विश्वकै सबैभन्दा महंगो मान्छे मेस्सी, कस्तो जादु देखाउलान आज ? (भिडियोमा)

विश्वकै सबैभन्दा महंगो मान्छे मेस्सी, कस्तो जादु देखाउलान आज ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

लियोनेल मेस्सी । अर्जेन्टिनाका यी महान् फुटबल खेलाडी विश्वकै सबैभन्दा ठूला र महँगा ब्राण्ड हुन् । ३० वर्षे यी बार्सिलोनाका खेलाडी अहिले आफ्नो राष्ट्रिय टोलीबाट रुस विश्वकपमा सहभागिता जनाउन बन्द प्रशिक्षणमा छन् ।

मेस्सि यो विश्वकपलाई अविष्मरणिय बनाउन चाहान्छन् । आफ्नो ब्यावसायिक फुटबल करियरमा सबै उपाधी जितिसकेका मेस्सिले राष्ट्रिय टोलीबाट कुनै पनि ठूलो उपाधी जित्न सकेका छैनन् । पछिल्लो चार वर्षमा तीन ठूला प्रतियोगिताको फाइनल हारेर मेस्सि पीडामा छन् । दुइवटा कोपा अमेरिका फुटबलको फाइनलमा चीलि र अघिल्लो संस्करणको विश्वकप फुटबलमा जर्मनीसंग पराजित भएपछि मेस्सिको अर्जेन्टिना उपाधिविहिन बन्न पुगेको थियो ।

राष्ट्रिय टोलीबाट ठूलो सफलता नचुमेपनि बार्सिलोनाबाट ब्यासायिक फुटबल खेल्दै मेस्सि विश्वकै सबैभन्दा धनी खेलाडीको सूचिको अग्रस्थानमा छन् । फुटबल पण्डितहरु भन्ने गर्छन् – मेस्सिले बार्सिलोनालाई सबै दिए, बार्सिलोनाले मेस्सिलाई सबै दियो ।

मेस्सिले अघिल्लो वर्ष बार्सिलोनासंग नयाँ सम्झैतामा हस्ताक्षर गरेका छन् । नयाँ सम्झौता अनुसार मेस्सि अब सन् २०२१ सम्म बार्सिलोनामा रहनेछन् । सन् २०२१ को सिजन सकिंदा मेस्सि ३४ वर्षको पुग्नेछन् । त्यसअघि नै कुनै फुटबल क्लबले मेस्सिलाई किन्न चाहे ८ सय ३५ मिलियन अमेरिकी डलर, अर्थात करिब ८१ अर्ब रुपैंया बार्सिलोनालाई तिर्नुपर्ने हुन्छ ।

नयाँ सम्झौता अनुसार बार्सिलोनामा अब मेस्सिको मासिक तलब २७ करोड रुपैंया भन्दा बढी हुनेछ । मेस्सिले साताको ६ लाख ७० हजार अमेरिकी डलर, अर्थात झण्डै ७ करोड रुपैंया बराबरको नयाँ सम्झौता गरेका हुन् । बार्सिलोनासंग नयाँ सम्झौता गरेवापत क्लबले उनलाई ६ करोड अमेरिकी डलर, अर्थात ६ अर्ब रुपैंया भन्दा बढी बोनस पनि दिएको छ । अघिल्लो सिजन मेस्सिले बार्सिलोनाबाट तलब र बोनस गरेर एक वर्षको ५ करोड अमेरिकी डलर, अर्थात ५ अर्ब रुपैंया भन्दा बढी कमाएका थिए । यो वर्षदेखि मेस्सिको एक वर्षको कमाइ त्यो भन्दा बढी हुने निश्चित भएको छ ।

यो त भयो मेस्सिले बार्सिलोनाबाट मैदानभित्र फुटबल खेलेवापत कमाउने रकम । मेस्सि मैदानबाहिर पनि विश्वकै सबैभन्दा ठूला ब्राण्ड हुन्, अर्थात सबैभन्दा ठूला र महंगा ब्राण्ड एम्बेसडर । कुनै पनि ब्राण्डको विज्ञापन गरिदिएवापत मेस्सिले ठूलो रकम लिने गरेका छन् ।

मेस्सिसंग आज एडिडास, पेप्सि, माष्टरकार्ड, हुवाए, टाटाजस्ता विश्व प्रशिद्ध दुई दर्जन ब्राण्ड आवद्ध छन् । त्यो बाहेक, मेस्सि खाडीको सबैभन्दा धनी मुलुक युएईका दूत हुन् ।

फोब्र्सका अनुसार मेस्सिले बार्सिलोना क्लबबाट अहिलेसम्म तलब र बोनस गरेर ५५ करोड अमेरिकी डलर, अर्थात ५५ अर्ब रुपैंया कमाइसकेका छन् । मेस्सि सन् २००४ को सिजनबाट बार्सिलोनासंग आवद्ध छन् । सन् २०२१ सम्म बार्सिलोनामा रहँदा मेस्सिले ९० करोड अमेरिकी डलर, अर्थात ९० अर्ब रुपैंया भन्दा बढी कमाउने फोब्र्सको अनुमान छ । फोब्र्सले उनलाई विश्वमा सबैभन्दा धेरै पैसा कमाउने सर्वकालिन टप टेन खेलाडीको सूचीमा राखेको छ ।

१३ वर्षको छँदादेखि बार्सिलोनासंग आवद्ध रहेको मेस्सिले आफ्नो क्लबलाई ३२ वटा उपाधी जिताइसकेका छन् । त्यसमा चारवटा यूरोपको प्रतिष्ठित च्याम्पियन्स लिग, नौ वटा स्पेनिस ला लिगा र ६ वटा कोपा डेल रे को उपाधी छन् । उनले अहिलेसम्म बार्सिलोनाबाट ६ सय ३७ खेल खेल्दै ५ सय ५२ गोल गरिसकेका छन् । बार्सिलोना क्लबको इतिहासमै मेस्सि सर्वाधिक गोलकर्ता हुन् । पछिल्लो ९ सिजन यता मेस्सिले बार्सिलोनाका लागि हरेक सिजन ४० भन्दा बढि गोल गर्दै आइरहेका छन् । त्यस्तै, मेस्सिले आफ्नो करियरमा ४० वटा ह्याट्रिक समेत गरेका छन् । मेस्सि यो पटकको विश्वकपअघिको सिजनमा सबैभन्दा बढी गोल गर्दै रुस पुग्ने खेलाडी पनि हुन् । यो सिजन बार्सिलोनाका लागि ५४ खेल खेल्दै मेस्सिले ४५ गोल गरेका छन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि भने मेस्सिले अहिलेसम्म १ सय २४ खेल खेल्दै ६४ गोल गरेका छन् । मेस्सि अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता समेत हुन् । दुई वर्षअघि उनले अर्जेन्टिनाका अर्का महान् खेलाडी डिएगो म्यारेडोनाको सर्वाधिक गोलको रेकर्ड तोडेका थिए । समकालिन फुटबल खेलाडीमध्ये आफ्नो क्लब र देशका लागि ६ सय भन्दा बढी गोल गर्ने मेस्सि एक्ला खेलाडी हुन् ।

मेस्सिले पाँच पटक फिफा बेलुन डी ओर, अर्थात वर्षको उत्कृष्ट फुटबल खेलाडीको उपाधी जितिसकेका छन् । सन् २००८ देखि २०१२ सम्म उनी लगातार चार पटक विश्व फुटबलर अफ दी इयर घोषित भएका थिए ।

मेस्सि, फुटबलका पेले र म्यारेडानाजस्तै सर्वकालिन् महान् खेलाडी हुन् की होइनन् भन्ने बहस विश्वभर चल्ने गर्छ । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट कुनै पनि ठूलो उपाधी नजितेकाले उनी पेले र म्यारेडानाजस्तो नभएको तर्क गर्ने धेरै छन् । तर, क्लब फुटबलमा पेले र म्यारेडोनाले जित्न नसकेका उपाधी मेस्सिले जितेकाले उनी सर्वकालिन् महान् खेलाडी हुन् भनेर मान्ने जमात पनि कम छैन । त्यसैले पनि यसपटकको विश्वकप अर्जेन्टिनालाई जिताउदै मेस्सि आफ्ना विरोधी र आलोचक दुबैलाई जवाफ दिन चाहान्छन् । विश्वकप जित्न सके अर्जेन्टिनामा म्याराडोना जत्तिकै इज्जत आफ्नो पनि हुनेमा मेस्सि आशावादी छन् ।

 

Logo