इपिएल क्रिकेट: विराटनगरले काठमाडौँलाई हरायो

इपिएल क्रिकेट: विराटनगरले काठमाडौँलाई हरायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ | एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो । 

विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे । 

काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २/२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १/१ विकेट झारे । 

यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे । 

विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २/२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १/१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधिसहित उनले रु १० हजार प्राप्त गरे । रासस

Logo