साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए

साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ६ पुस ।
भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ ।

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो ।

खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि ८१ औं मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाए पनि नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल एक एकको बराबरीमा सकियो ।

चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगितामा आफ्नो सम्भावना समाप्त गरेको छ । च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–० ले पराजित नेपाल दोस्रो खेलमा भारतसँग १०–० ले हारेको थियो ।

जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन् । अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एक खेलमा हार र दुई खेलमा जीत निकालेको भारत छ अंकसहित दोस्रो स्थानमा छ । फाइनल खेल आइतबार हुनेछ ।

Logo