विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा ननितालाई सफलता

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा ननितालाई सफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ असोज । मंगोलियाको उलनबटोरमा आयोजित नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् ।

ननिताले महिला १ सय ६० सेन्टीमिटर उचाईमा रजत जितेकी छिन् । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा मंगोलियाले स्वर्ण जित्दा इटालीले कांस्यमा चित्त बुझायो ।

खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । त्यो कांस्य पदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो । आठौं विश्व शारीरिक सुगठनमा ननिताको डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । ननिताले २०७३ सालमा काठमाडौंमा भएको प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर थालेकी थिइन् । त्यस प्रतियोगितामा ननिताले स्वर्ण जितेकी थिइन् ।

सोमबार सम्पन्न हुने प्रतियोगितामा नेपाली खेलाडीको प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा ननिता र २ पुरुष खेलाडी गरी ३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । रुजेशले ६० केजीमा कांस्य जिते भने ५५ केजीमा कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए ।

नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले बताएका छन् । नवौं विश्व शारीरिक सुगठन नेपालका लागि ऐतिहासिक क्षण हो । कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि दुई खेलाडीले पदक जितेका थिएनन् । महासचिव श्रेष्ठले भने– यसपटक हाम्रा खेलाडीले त्यो उपलब्धी हात पार्दै सारा नेपाली र शारीरिक सुगठन प्रेमीलाई खुशी तुल्याएका छन् ।

नेपाली टोली सोमबार राती स्वदेश फर्किदैछ । अन्तर्राष्ट्रिय निर्णायक ईश्वरमान श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Logo