सन्दिप र रोहित चम्केपछि मलेसिया फेरि धराशायी

सन्दिप र रोहित चम्केपछि मलेसिया फेरि धराशायी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ साउन ।

कप्तान सन्दिप लामिछानेको लेग स्पिन र रोहित कुमारको ब्याट चम्केपछि सिंगापुरमा भइरहेको आइसिसी एसिया यु–१९ विश्वकप छनोट चरणको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । सन्दिप एक्लैले सात विकेट लिएपछि मलेसिया सस्तैमा आउट भएको थियो ।

रन चेज गर्ने क्रममा टोली संकटमा पर्न थालेजस्तो देखिएको समयमा सातौं नम्बरमा खेल्न आएका रोहितले चौकाको वर्षा गर्दै तेज गतिमा रन बटुल्दै नेपाललाई जित दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गर्न निम्त्याइएको मलेसिया ५० ओभरको खेल भए पनि जम्मा ३५.१ ओभरमा केवल ८९ रन बनाएर अलआउट भएको थियो ।

मलेसियालाई सस्तैमा समेट्न सन्दिपले ९.१ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै जम्मा १३ रन खर्चेर ७ विकेट लिए भने शाहब आलमले २३ रन खर्चेर २ र रिजन ढकालले १३ रन खर्चेर १ विकेट लिएका थिए ।

९० रनको सामान्य लक्ष्य पाएको नेपालले केवल २२.२ ओभरमै ५ विकेट गुमाउँदै सहज जित हासिल गर्यो ।

पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे पनि दोस्रो विकेट टिमस्कोर ३५ रन हुँदा, तेस्रो विकेट ३६ रनमा, चौथो विकेट ४० रनमा र पाँचौँ विकेट पनि ४० रनमै खसेपछि नेपाल समस्यामा पर्ने सम्भावना बढेको थियो ।

तर त्यसपछि भने नेपाल सम्भालिएर खेल्यो । आसगरी सातौं नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले नेपाली इनिङको जिम्मा बोके । उनले ३७ बलमा ६ चौका प्रहार गर्दै ३४ नटआउट रन बनाए । अर्का ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी २९ बलमा १ चौकासहित १९ रनमा नटआउट रहे । पौडेल र ऐरीले छैटौं विकेटका लागि नटआउट ५२ रनको विजयी साझेदारी पनि गरे ।

नेपाली ओपनर सन्दिप सुनारले १५ र अर्का ओपनर अनिल शाहले १२ रनको योगदान गरे । प्रनीत थापामगर ८ रनबनाएर आउट भए भने आदिल खान र विकेटकिपर प्रकाश केसी शून्य रनमै आउट भए ।

मलेसियाका लागि विरनदीप सिंहले १० ओभरमा ३१ रन खर्चेर ३ र हफिजुद्दिनले ३७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर सैयद अजिजले सन्दिपको बलमा क्याचआउट हुनुअघि १ छक्का र ७ चौकासहित ६६ बलमा ४६ रन बनाएका थिए । अन्य खेलाडीमा कप्तान विरनदीप सिंहले १० रन र शौभिन्दर सिंहले नटआउट १० रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने चारजना त शून्यमै आउट भएका थिए ।

सन्दिपले यसभन्दा पहिले भएको मलेसियाविरुद्धको म्याचमा पनि पाँच विकेट लिएर म्यान अफ द म्याच भएका थिए भने आजको म्याचमा पनि उनी म्यान अफ द म्याच घोषित भए ।

न्युजिल्यान्डमा हुने आइसिसी यु–१९ विश्वकपका लागि एसियाली छनोट चरणमा चार टिमले एकअर्काविरुद्ध दुई–दुई म्याच खेल्ने छन् । आइसिसी वान डे टिमको स्टाटस पाइसकेको अफगानिस्तान अहिलेसम्मको एकमात्र अपराजित टिम हो । ८ अंकसहित दोस्रो स्थानमा रहेको नेपालले आफ्नो अन्तिम म्याच १० अंकसहित पहिलो स्थानमा रहेको अफगानिस्तानविरुद्ध मंगलबार खेल्ने छ ।

Logo