यू १९ विश्वकपमा नेपालकाे विजयी सुरूवात

यू १९ विश्वकपमा नेपालकाे विजयी सुरूवात

केन्द्रबिन्दु
0
Shares

२ साउन, काठमाडौं ।

यू-१९ विश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले आयोजक सिंगापुरलाई पराजित गरेको छ । प्रतियोगिताको सुरुवाती खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।
७४ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर २ बलमा ६ विकेट गुमाउँदै जित निकाल्यो । 

ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन पुग्यो । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका लागि अनिल साहले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र प्रकाश केसीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्, उनीहरुले क्रमसः २ र ६ रन बनाएका थिए ।

रोहित कुमार पौडेलले अविजित ११ रन बनाए । नेपालले ७ अतिरिक्त रन पाएको थियो ।

यसअघि सिंगापुर क्रिकेट क्लब, पादाङमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर मात्र ४ रन थियो ।

नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए ।

तर, आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।

दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

Logo