रत्नजीत बने अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन विजेता, महिलातर्फ श्रीलंकाकी दिल्मी दियस

रत्नजीत बने अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन विजेता, महिलातर्फ श्रीलंकाकी दिल्मी दियस

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असार ।

राजधानीमा जारी अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल खुलातर्फको उपाधि नेपालका नम्बर एक खेलाडी रत्नजीत तामाङले र महिला एकलतर्फको उपाधि श्रीलंकाकी दिल्मी दियसले जितेका छन् । बुधबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबका रत्नजीतले आफ्नै क्लबका नवीन श्रेष्ठलाई पराजित गर्दै उपाधि जितेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्ड हलमा भएको फाइनलमा रत्नजीतले २१–११, २१–१४ को सोझो सेटमा विजय हासिल गरेका हुन् ।

सेमिफाइनलमा भारतका अञ्जन बुरागाईंलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्दै रत्नजीतले फाइनल यात्रा तय गरेका थिए । यस्तै नवीनले पाकिस्तानका मुराद अलीलाई २१–१८, २१–१३ ले पराजित गरेका थिए ।

दिल्मी दियस श्रीलंकाको यू–१७ उमेर समूहकी नम्वर एक खेलाडी हुन् । उनले त्रिभुवन आर्मी क्लबकी नङसलदेवी तामाङलाई पराजित गर्दै उपाधि जितेकी हुन् । पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेकी दियसले दोस्रो सेट पनि २१–१५ ले जित्दै नेपाल बसाइँलाई अविस्मरणीय बनाइन् ।

सेमिफाइनलमा नङसलले आर्मीकै अनु राईलाई २१–११, २१–१८ लाई पराजित गरेकी थिइन् भने दिल्मीले एपिएफ क्लबकी सुनैना मुखियालाई २१–६, २१–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन् ।

पुरुष डबल्सको उपाधि पाकिस्तानलाई

पुरुष डबल्स खुलातर्फको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा भारतका जुम्ल्याहा दाजुभाइ अञ्जन र रञ्जन बुगोंईलाई पराजित गर्दै पाकिस्तानका अजिम सरवार र मुराद अलीको जोडीले उपाधि जितेको हो । खेलको सुरुदेखि नै दबाब बनाएको पाकिस्तानी खेलाडीले २१–१६, २१–१५ को सेटमा उपाधि जिते ।

अजिम सरवार र मुराद अलीको जोडी सेमिफाइनलमा नेपाल पुलिसका दिपेश धामी र विष्णु कटवालको जोडी २१–१६, २१–१३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतीय दाजुभाइले त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी २१–१४, २१–१४ ले पराजित गरेको थियो ।

विशाल खड्काको सहज जित

प्रतियोगिताअन्तर्गत पुरुष एक्जुकेटिभ एकलतर्फ कामना विकास बैंकका विशाल खड्काले सहज जित हात पार्दै उपाधि जितेका छन् । खड्काले फाइनलमा लाइफ फर्माका गणेश रायमाझीलाई २१–१८, २१–१३ ले हराउँदै उपाधि आफ्नो बनाए ।

मंगलबार भएको सेमिफाइनल खेलमा विशालले एभरेस्ट फुडका विश्वास नेपाललाई १७–२१, २१–११, २१–१९ को सेटमा पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका थिए । यस्तै गणेशले ग्रिन डेभलपमेन्ट बैंकका विवेक जीसीलाई २१–१८, २१–१४ को सोझो सेटमा पराजित गरेका थिए ।

वीरेन्द्र र श्यामको जोडीलाई उपाधि

पुरुष कर्पोरेट डबल्सतर्फ लाइफ फर्माका वीरेन्द्रसिंह विष्ट र स्पिड इनर्जीका श्याम पराजुलीको जोडीले उपाधि जितेका छन् । वीरेन्द्र र श्यामको जोडीले सिल्क किचेनका दीप आचार्य र नेपाल फुड्सका पंकज केएस ज्ञवालीलाई प्रतिस्पर्धात्मक २१–१३, १४–२१, २२–२० को सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।

सेमिफाइनलमा वीरेन्द्र र श्यामको जोडीले पनिनीका भूमिबहादुर गुरुङ र कर्णबहादुर शाहीको जोडीलाई २५–२३, २१–१७ को सेटमा हराएका थिए भने । दीप आचार्य र पंकज केएस ज्ञवालीको जोडीले एलबीबीका दिलीप गौचन र लक्ष्मी बैंकका जीवनप्रकाश लिम्बूको जोडीलाई २१–१६, २१–११ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

विशालद्वयको जोडी च्याम्पियन

पुरुष एक्जुकेटिभ डबल्सतर्फ बैदाम केबलका विशाल बस्नेत र कामना विकास बैंकका विशाल खड्का च्याम्पियन बनेका छन् । फाइनलमा आरएस कन्स्ट्रक्सनका रजिन खड्का र ग्रिन डेभलपमेन्ट बैंकका विवेक जीसीलाई २१–११, २१–१७ को सोझो सेटमा पराजित गर्दै विशालद्वयको जोडी च्याम्पियन बनेको हो ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा विशालद्वयको जोडीले कृषिका विकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–१८, २१–७ को सेटमा हराउँदै उपाधि नजिक पुगेका थिए । रजिन खड्का र विवेक जीसीको जोडीले एनई फुडका पंकज केएस ज्ञवाली र एभरेस्ट फुडका विश्वास नेपाललाई १२–२१, २१–११, २१–१८ को सेटमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

हरेक विधाका विजेता खेलाडीलाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो स्थान हासिल गर्नेलाई आधा तोला सुनको सिक्का, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेता खेलाडीलाइ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपाली सेनाका उपरथि देवकुमार सुवेदी, सशस्त्र प्रहरीका एआईजी शैलेन्द्र खनाल, अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, अन्नपूर्ण पोस्ट्का प्रमुख कार्यकारी अधिकृत सञ्जयचन्द्र बस्नेत, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक युवराज घिमिरे, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्का प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका तीन सय २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म तथा इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता आयोजना भएको थियो ।

Logo