‘शताब्दीको विवाह’ मा रमेका मेसीको प्रेमकथा

‘शताब्दीको विवाह’ मा रमेका मेसीको प्रेमकथा

केन्द्रबिन्दु
0
Shares

यो प्रेम कहानी २१ वर्षअघि रोसारियो सहरबाट सुरु हुन्छ । रोसारियो त्यही सहर हो जहाँ विश्व कम्युनिस्ट क्रान्तिका एक आदर्श चे ग्वेभारा जन्मिए । र, जहाँ विश्व फुटबलका एक आदर्श लियोनेल मेसी जन्मिए ।

डिएगो भालिलजोस, लुकास स्कागलिया र लियो मेसी ‘निवेल ओल्ड ब्वायज क्लब’को युवा टोलीबाट एकसाथ खेल्थे । कहिल्यै नहार्ने यो टोलीले स्थानीयस्तरमा ‘द मेसिन अफ ८७’ उपनाम पाएको थियो । ‘८७’ यस टोलीका खेलाडीहरूको औसत जन्ममिति १९८७ का कारण नामाकरण गरिएको थियो ।

मेसी, डिएगो र लुकासको मित्रता फुटबलमै मात्र सीमित थिएन । फुर्सदको समयमा उनीहरू रोसारियोको पाराना खोला किनारमा गिट्टी खेल्न निस्कन्थे, जहाँ लुकासकी बहिनी एन्टोनिला उनीहरूलाई पछ्याउँदै आउँथिन् । मेसी यतिबेला केवल ९ वर्षका थिए ।

एन्टोनिलाका पिता रोसारियोस्थित चर्चित सुपरमार्केटका साहुजी थिए । मेसीको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । १० वर्षको उमेरमा मेसीलाई ‘नक ग्रोथ हार्मोन डिफिसियन्सी’ अर्थात् उचाइ नबढ्ने रोग लागेको थाहा भयो । परिवारमा निराशा छायो । निवेल ओल्ड ब्वायज क्लब उनको उपचार गर्न सक्ने अवस्थामा थिएन ।

यी निराश दिनहरूमा मेसीलाई पारिवारिक अवस्था, आर्थिक विपन्नता र आफ्नो रोगबारे खासै मतलब थिएन । होचै भए पनि उनी राम्रो खेल्थे । फुर्सदको समय साथीहरूसँगै खोला किनारमा जान्थे । त्यहीँ एन्टोनिलासँग भेट्थे ।

डिएगोको भनाइ मान्ने हो भने त्यतिबेलै एन्टोनिला र मेसी एकअर्काप्रति आर्कषित थिए । लजालु स्वभावका मेसी कम बोल्थे । १२ वर्ष पुग्दासम्म मेसीले एन्टोनिलाका नाममा प्रेमपत्र लेख्न थालिसकेका थिए । १ वर्ष कम उमेरकी एन्टोनिला पनि मेसीको फुटबल कलाबाट प्रभावित थिइन् ।

१३ वर्षको उमेरमा अर्जेन्टिना छाडेर मेसी बार्सिलोना गए । बिस्तारै पैसा र प्रसिद्धीले उनलाई पछ्याउन थाल्यो । त्यसपछिका वर्ष मेसी पूरै फुटबलमा केन्द्रित भए । सन् २००४ मा मेसीले पहिलोपटक बार्सिलोनाबाट माथिल्लो डिभिजनको फुटबल खेले । त्यही वर्ष अर्जेन्टिनाको यू–२० टोलीमा समावेश भए ।

२००५ मा अर्जेन्टिनालाई यू–२० विश्वकप जिताएपछि उनी राष्ट्रिय हिरो भए । उनको तुलना म्याराडोनासँग हुन थाल्यो । मेसी राष्ट्रिय टोलीमा समेत समावेश भए ।
यसरी मेसी विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्ने लक्ष्यमा सफल हुँदै गइरहेका थिए । तर ल्याटिन अमेरिकी एजुकेसनल सेन्टरकी विद्यार्थी एन्टोनिलाको बाटो बार्सिलोना गएका मेसीबाट अलग भइसकेको थियो । एन्टोनिला रोसारियोकै अर्का एक युवासँग प्रेममा थिइन्, जुन तीन वर्षसम्म चल्यो ।

सन् २००७ मा रोसारियोमा एन्टोनिलाकी साथीको सडक दुर्घटनामा मृत्यु भयो । मेसी यतिबेला विश्वचर्चित भइसकेका थिए । जतिबेला उनले यस दुर्घटनाका विषयमा थाहा पाए, त्यसपछि एन्टोनिलालाई शोकको घडीमा साथ दिन उनी रोसारियो आए ।

यतिबेलासम्म एन्टोनिलाको ब्रेकअप भइसकेको थियो । मेसीसँगको उनको पुरानो प्रेम फेरि झांगियो । तर मेसी र एन्टोनिला दुवैले आफ्नो प्रेमका विषयमा कसैलाई केही भनेनन् ।

पूरै विश्वले मेसी कसैको प्रेममा छन् भन्ने थाहा पाउन सन् २००९ सम्म कुर्नुप¥यो । ‘के तपाईंकी प्रेमिका छिन् ?’ २१ वर्षका मेसीलाई बार्सिलोनाको क्याटेलान टिभी ३ बाट प्रसारण हुने ‘ह्याट्रिक बार्सा’ कार्यक्रममा प्रस्तोताले प्रश्न राखेका थिए । ‘हो मेरी प्रेमिका छिन् । उनी अर्जेन्टिनामा छिन् । म खुशी र सुखी छु,’ मेसीले जवाफ दिएका थिए ।

मेसीसँग सधैँ नजिकको सम्बन्धमा रहेकी एन्टोनिला रोक्कुजो नै ती महिला हुन् भन्ने अनुमान लगाउन सञ्चार माध्यमहरूलाई समय लागेन । यद्यपि अन्तरवार्तामा मेसीले नाम लिन अस्वीकार गरेका थिए । सन् २०१० को विश्व कपअघि एन्टोनिला मेसीलाई भेट्न पहिलो पटक बार्सिलोना आइन् ।

दक्षिण अफ्रिकामा भएको विश्व कपमा अर्जेन्टिना क्वाटर फाइनलबाटै बाहिरियो । त्यसपछि मेसी निकै चिन्तित थिए । उनले एन्टोनिलासँग समुन्द्री किनारमा छुट्टी मनाउँदै गरेका तस्बिर अन्तर्राष्ट्रिय सञ्चार माध्यमका फोटोग्राफरहरूले कैद गरे । यसरी मेसी र एन्टोनिलाबीचको प्रेम सार्वजनिक हुँदै गयो ।

जून २, २०१२ मा मेसीले अर्जेन्टिनाबाट इक्वेडरविरुद्ध गोल गर्दा आफ्नै स्टाइलमा एन्टोनिला गर्भवती रहेको खुलासा गरे । उनले खुसियाली मनाउने क्रममा जर्सीभित्र बल घुसाएका थिए । नोभेम्बर २०१२ मा यो जोडीको पहिलो छोरा थिएगो र सेप्टेम्बर २०१५ मा दोस्रो छोरा माटियोको जन्म भयो ।

दुई छोराको जन्मपछि यसै साता एक भव्य समारोहमा यो जोडी विवाह बन्धनमा बाँधियो । उनीहरूले रोसारियोमै गएर बिहे गरे । मेसीको गृहनगरमा भएको यस विवाहलाई स्थानीय सञ्चार माध्यमले ‘वेडिङ अफ द सेन्चुरी’ अर्थात् शताब्दीको बिहे भनेका छन् ।

‘यो हाम्रा लागि कुनै आश्चर्य होइन । मेसी फर्कन्छन् र उनले यहीँ बिहे गर्छन् भन्ने पहिल्यै थाहा थियो । उनी आफ्ना साथीभाइ र परिवारसँग नजिक हुन चाहन्छन्,’ डिएगो भालिलजोसले भने, ‘पैसाले उनको व्यक्तित्व परिवर्तन गरेको छैन । अहिले पनि उनी उस्तै शालीन छन्,’ डिएगोले भने ।(एजेन्सी)

 

 

Logo