फेरि नवीन बने अन्तर एयरलायन्स टिटी च्याम्पियन

फेरि नवीन बने अन्तर एयरलायन्स टिटी च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार । आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्स च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा मंगलबार भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा सहजै पराजित गरेका हुन् । निगमको ५० औं वार्षिकोत्सवदेखि अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको सुरुआत भएको थियो । त्यसयता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए । निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रीतम प्रधानसंग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए । निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेश्रो बने । यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला सिंगल्स स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोश्रो र निमा डोमा शेर्पा तेश्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् । विजेतालाई निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा हुने समारोहमा पुरस्कृत गरिने छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । चारदिने प्रतियोगितामा ४० पुरुष र ४ महिला प्रतिस्पर्धीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Logo