रञ्जना भइन् अन्तर एअरलाइन्स टिटी च्याम्पियन

रञ्जना भइन् अन्तर एअरलाइन्स टिटी च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ असार । आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्स च्याम्पियन भएकी छन् । चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकाल्दै रञ्जना सोमबार उपाधि जित्न सफल भएकी हुन् । रञ्जनाले प्रतिद्वन्द्वीत्रय उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० को नतिजामा पाखा लगाइन् । पराजित तीनै प्रतिस्पर्धी पनि आयोजक निगमकै हुन् । अन्जु शाह र निमालाई समान २–० को सोझो सेटमा हराएकी उषा दोश्रो भइन् । निमाले तेश्रो स्थानमा चित्त बुझाइन् । निमाले अन्जुलाई २–० ले नै पाखा लगाइन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कतार एयरवेजका कमल श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । कमलले निगमका सुरेशविक्रम हमालको यात्रा ११–९, ९–११, ३–११, १३–११ र ११–५ को सेटमा पूर्णविराम लगाए । फाइनलमा कमलको भेट निगमका नवीनबहादुर शाक्यसंग हुनेछ । नवीन एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ३–० को सीधा सेटमा पाखा लगाउदै यसअघि नै फाइनलमा पुगिसकेका छन् । तेश्रो स्थानका लागि भएको खेलमा भने सुरेशले सफलता पाए । उनले एयर अरेबियाका प्रज्ज्वललाई ११–७, ११–६ र ११–३ को सोझो सेटमा पराजित गरे । पुरुष डबल्समा निगमका नवीन र प्रितम प्रधानको जोडी फाइनलमा पुगेको छ । उक्त जोडीले निगमकै जयबहादुर चन्द र समिर केसीको जोडीलाई १६–१४, ११–७ र ११–९ को सोझो सेटमा हराए । अर्को सेमिफाइनल हुन बाँकी छ ।

Logo