दीपराज गुरुङ माथि आरोपै आरोप

दीपराज गुरुङ माथि आरोपै आरोप

केन्द्रबिन्दु
0
Shares

सीताराम कोइराला नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङमाथि खेलाडीको भत्ता हिनामिना गरेको आरोप लागेको छ । तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङले संघका महासचिव गुरुङले खेलाडीको बन्द प्रशिक्षणका लागि आएको भत्ता हिनामिना गरेको आरोप लगाएका हुन् । मुख्य प्रशिक्षक गुरुङले संघका महासचिव गुरुङविरुद्ध राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार उजुरी दर्ता गराएका छन् । प्रशिक्षक गुरुङको उजुरीमा महासचिव गुरुङविरुद्ध आधा दर्जन आरोप छन् । महासचिव गुरुङले आफु माथि लगाइएको आरोप निराधार र झुटो भएको भन्दै खण्डन गरेका छन् । दुई दिनको भत्ता हिनामिना ०७२ फागुनमा भारतमा गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ५ प्रशिक्षक तथा १३ खेलाडीको लागि आएको दुई दिनको भत्ता महासचिव गुरुङले हिनामिना गरेको आरोप मुख्य प्रशिक्षक गुरुङले लगाएका हुन् । परिषद्ले बन्द प्रशिक्षणका लागि प्रत्येक खेलाडी तथा प्रशिक्षकलाई दिनको ६ सय रुपैयाँ दिएको थियो । ‘बन्द प्रशिक्षण सुरु हुनुभन्दा दुई दिनअघिको भत्ता महासचिवले लिएका थिए,’ प्रशिक्षक गुरुङले नयाँ पत्रिकासँग भने, ‘त्यो रकम खेलाडी तथा प्रशिक्षकले अहिलेसम्म पाएका छैनन् ।’ तर, महासचिव गुरुङले आफैँ रकम नलिएको बताए । ‘बन्द प्रशिक्षणका लागि आएको रकम प्रमुख प्रशिक्षकले लिने व्यवस्था छ,’ महासचिव गुरुङले भने, ‘यो व्यक्तिगत रूपमा लगाइएको आरोप हो ।’ तौल समूह कटाइयो महासचिव गुरुङ १२औँ साग तेक्वान्दोको टेक्निकल डाइरेक्टर हुँदा पनि नेपालले पदक ल्याउने तौल समूह कटाएको पनि आरोप लगाइएको छ । सागमा पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा भए पनि महिलातर्फ पाँचवटा मात्र तौल समूहमा प्रतिस्पर्धा भएको थियो । ‘नेपालले पदक ल्याउन सक्ने तीन तौल समूह जानीजानी हटाइएको हो,’ प्रशिक्षक गुरुङले भने । साथै प्रशिक्षक गुरुङले सागमा स्वर्ण ल्याउन नसक्दा प्रशिक्षकको मात्र दोष देखाएर महासचिव पन्छिएकोमा पनि असन्तुष्टि जनाए । प्रशिक्षकमाथि भेदभाव परिषद्को बजेटबाट संघले सेमिनार तथा गोष्ठी सञ्चालन गरे पनि परिषद्मै आबद्ध प्रशिक्षकलाई समावेश नगरेको पनि प्रशिक्षक गुरुङले आरोप लगाएका छन् । यस्तै, दक्षिण कोरियामा सुरु विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनि खेकलुद परिषद्मा आबद्ध नभएका प्रशिक्षकलाई लगेकोमा प्रशिक्षक गुरुङले असन्तुष्टि जनाएका छन् । कोरियामा शनिबार सुरु भएको विश्व च्याम्पियनसिपमा १० खेलाडीले विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गरिरहेका छन् । जहाँ नेपालीको प्रशिक्षकको रूपमा जे हो ली गएका छन् । दक्षिण कोरियामै हुने पारातेक्वान्दो च्याम्पियनसिपमा पनि परिषद्बाहेकका प्रशिक्षकलाई लगिएको प्रमुख प्रशिक्षक गुरुङको आरोप छ । त्यहाँ तीन खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदै छ । पारातेक्वान्दो प्रशिक्षकमा कविराज नेगी लामा कोरिया गएका छन् । म्यानपावरको जस्तै काम प्रशिक्षक गुरुङले महासचिव गुरुङमाथि तेक्वान्दोको नाममा विदेश गएका खेलाडीलाई उतै छाडेको गम्भीर आरोप लगाएका छन् । क्यानडा गएका यादव कुँवर तथा दक्षिण कोरिया गएका मानध्वज लामा, रामकुमार पाण्डे, खम्बा राई, रमेश शाही र प्रमोद मानन्धर तेक्वान्दो संघमार्फत गए पनि नफर्किएको आरोप गुरुङको छ । ‘खेलको नाममा म्यानपावरसरह कार्य गरी खेलकुदलाई बदनाम गरेको हुँदा अविलम्ब कारबाहीको दायराभित्र ल्याउन निवेदन पेस गरेको छु,’ प्रशिक्षक गुरुङले दर्ता गराएको उजुरीमा भनिएको छ । छानबिन हुन्छ – सदस्यसचिव परिषद्का सदस्यसचिव केशवकुमार विष्टले तेक्वान्दो संघका महासचिवविरुद्ध उजुरी परेको पुष्टि गर्दै छानबिन प्रक्रिया अघि बढेको बताए । ‘तेक्वान्दो संघका महासचिवविरुद्ध खेलाडीको रकम हिनामिना गरेको तथा प्रशिक्षकमाथि भेद्भाव गरेको आरोपसहित उजुरी आएको छ,’ विष्टले भने, ‘सत्यतथ्य बुझी छानबिनको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छु ।’

Logo