विराट कोहलीसँगको विवादपछि भारतका प्रशिक्षकले दिए राजिनामा

विराट कोहलीसँगको विवादपछि भारतका प्रशिक्षकले दिए राजिनामा

केन्द्रबिन्दु
0
Shares

दिल्ली : भारतका क्रिकेट प्रशिक्षक अनिल कुम्बलेले पाकिस्तानसँगको हारपछि राजिनामा दिएका छन् । कप्तान विराट कोहली र टिमका केही खेलाडीसँग मतभेद भएपछि उनले मंगलबार पदबाट राजिनामा दिएका हुन् ।

आइतबार भएको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको लज्जास्पद हार चखाएको थियो । भारतीय टिम वेस्ट इन्डिज भ्रमणमा जानुअघि नै कुम्बलेले पदबाट राजिनामा दिएका हुन् ।

एक वर्षको आफ्नो कार्यकालमा कुम्बलेले भारतलाई च्याम्पियन्स ट्रफीको फाइनलमा पुर्याए । कप्तान विराट कोहलीसँगको विवादका कारण कुम्बलले पदबाट राजिनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपी कप्तान विराट कोहलीले प्रशिक्षक कुम्बलेसँग आफ्नो मतभेद नरहेको प्रतिक्रिया दिएका थिए ।

कुम्बलेको राजिनामासँगै विरेन्द्र सहवाग, टम मुडी, लालचन्द राजपूत , डोडा गणेश र रिचर्ड पाइबसलाई भारतका संभावित प्रशिक्षकका रुपमा हेरिएको छ । उनीहरुले प्रशिक्षक बन्नका लागि भारतीय क्रिकेट बोर्डमा आवदेन दिएका छन् ।
भारतले आफ्नो वेस्ट इन्डिज भ्रमण जून २३ बाट सुरु गर्दैछ ।

वेस्ट इन्डिज विरुद्ध भारतले पाँच एकदिवसिय तथा १ टी–२० खेल खेल्नेछ । टिमको कप्तानी विराट कोहलीले नै गर्नेछन् । भारतले आफ्नो पहिलो एकदिवसी खेल २३ जूनमा खेल्ने छ भने अन्तिम एकदिवसीय खेल ६ जुलाईमा खेल्नेछ । टी–२० खेल ९ जुलाईमा हुनेछ ।

Logo