एन्फा विवाद प्रतिवेदनः प्रशिक्षकले बानी व्यहोरा सुधार गर्नुपर्ने

एन्फा विवाद प्रतिवेदनः प्रशिक्षकले बानी व्यहोरा सुधार गर्नुपर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ । 

दुई साता लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन  राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् । 

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एशियाली फुटबल महासंघ फिफाको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफै समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने औल्याइएको छ ।

कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताए । 

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । सोहीअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राखेपलाई छानविन समिति गठन गरी एक साताभित्र प्रतिविदेन बुझाउन निर्देशन दिएका थिए । 

पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले दुई साताभित्र प्रतिवेदन सार्वजनिक गरेको हो ।
 

Logo