भारतीय कप्तान सुनिल भन्छन्, ‘नेपाल कठिन प्रतिद्वन्द्वी, प्रतिश्पर्धा सजिलाे छैन’

भारतीय कप्तान सुनिल भन्छन्, ‘नेपाल कठिन प्रतिद्वन्द्वी, प्रतिश्पर्धा सजिलाे छैन’

केन्द्रबिन्दु
0
Shares

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन्। 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए। ‘पहिला पनि हामीले नेपालसँग खेलेका थियौं। नेपाल कठिन प्रतिद्वन्द्वी हो,’ नेपाली मुलका भारतीय कप्तान सुनिलले भने । 

नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। खेल साँझ साढे ५ बजे हुने बताइएको छ। दर्शकको बिषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) सिसिएमसीको स्वीकृतिको पर्खाइमा छ। 

दुबै मैत्रीपूर्ण खेललाई फिफाले मान्यता दिएको छ । यस खेलले फिफा वरियता समेत प्रभाव पार्नेछ। 

कप्तान सुनिलले यस मैत्रीपूर्ण खेल आयोजना गरेको साथै आफूहरुलाई राम्रो हस्पिटालिटी दिएकोमा एन्फा तथा सरकारलाई धन्यवाद दिए। ‘नेपाल सरकार र नेपाल एफए (एन्फा) लाई धन्यवाद। यस्तो अवस्थामा पनि हामीलाई राम्रो हस्पिटालिटी दिएको छ,’ ३७ बर्षीय कप्तान सुनिलले भने। 

नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक इगोर स्टिम्याकले गत बुधबार २५ सदस्यीय टोली घोषणा गरेका थिए। भारतले यसअघि फिफा विश्वकप छनोट खेलेकै टोलीलाई निरन्तरता दिएको छ। 

दुई मैत्रिपूर्ण खेलको लागि ३७ सदस्यीय टोली नेपाल आएको हो। टोली होटल सोल्टीमा बस्नेछ। 

कप्तान सुनिलले आफ्नो टोलीले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल त्यसैको लागि राम्रो तयारी हुने बताए । ‘हामीले साफको तयारी गर्न पाएका छैनौं । केटाहरु एएफसी कपमा थिए। अहिले हाम्रो देशमा लिग छैन । दुईवटा टिममात्र एएफसीको प्रतियोगिताका लागि तयारीमा छन् । अरु सबै खेलाडी आराममा छन्,’ भर्खरै माल्दिभ्सको मालेमा एएफसी कप खेलेर फर्किएका सुनिलले भने । 

यसअघि एटिके मोहन बंगान र बैगलुरु एफसीका खेलाडी मालेमा एएफसी कप खेल्न गएपछि भारतीय टोलीले बाँकी २३ खेलाडीलाई कोलकातामा प्रशिक्षण दिएको थियो। १५ दिनको प्रशिक्षण पछि भारतीय टोली नेपाल आएको हो। 

कप्तान सुनिलले एएफसी कप खेल्न गएको हुनाले नेपालविरुद्ध कुन खेलाडीले खेल्ने भन्ने अहिले नै भन्न नसकिनेसमेत बताए । ‘एएफसी कप खेलेर भर्खरै फर्किएका छौं । राम्रो तयारी हुन पाएको छैन । को खेल्ने को खेल्दैन, यहि (नेपाल) थाहा हुन्छ।’ 

यस्तै कप्तान सुनिलले दुई मैत्रीपूर्ण खेलनै साफको तयारी हुने र आफूहरु मेहनत गरि आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैदानमा उत्रने बताए। 

‘अहिले कोभिडका कारण अत्यन्तै कठिन परिस्थितिमा हुँदा साफ च्याम्पियनसिपका लागि मैत्रीपूर्ण खेलले हामीलाई धेरै सहयोग पुग्नेछ। हामी पूरा मेहनतका साथ आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैत्रीपूर्ण खेलमा उत्रिनेछौं। त्यसपछि उपाधि जित्ने लक्ष्यसहित हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं,’ सुनिलले थपे।न्युज कारखानाबाट

Logo