नेपालद्वारा पीएनजी २ विकेटले पराजित

नेपालद्वारा पीएनजी २ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

सोमपाल कामी र रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी)माथि जीत हासिल गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। हारतर्फ अग्रसर नेपाललाई रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जीत दिलाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै  १ सय ३४ रन बनाएको थियो । पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए। त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए ।

किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए। कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १÷१ रन तथा जासन किला र डामिन राभु शून्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे। 

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए। बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन्। बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।

यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो। नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ।

Logo