बंगलादेशविरुद्ध डेब्यु गर्न सक्ने यी ५ महिला फुटबलर

बंगलादेशविरुद्ध डेब्यु गर्न सक्ने यी ५ महिला फुटबलर

केन्द्रबिन्दु
0
Shares

एएफसी एसिया महिला कप छनोट तयारीस्वरुप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुइमध्ये एक आज रहेको छ भने अर्काे खेल आइतबार हुनेछ। दुबै खेल अपरान्ह ५ बजे हुनेछ। 

नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेश र एसिया कप महिला २०२२ छनोटका लागि २३ सदस्यीय टोली घोषणा यसअघि नै गरेका थिए। घोषित टोलीमा अष्ट्रेलियन नागरिक ग्यारीले ७ नयाँ अनुहारलाई स्थान दिएका छन्। पहिलो पटक राष्ट्रिय टोलीमा प्रीति राई, सविता राना मगर, विमला विक, रजनी थोकर, रश्मी घिसिङ र सृजनासिंह ठकुरीले स्थान बनाएका हुन्। 

गत वर्ष पोखरामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)यता नेपाली महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ। साग खेलेका स्ट्राइकर निरु थापा र डिफेण्डर मनमाया लिम्बुले सन्यास लिइसकेका छन् भने सावित्रा भण्डारी, शर्मिला थापा, रेखा पौडेल टोली बाहिर छन्। 

घुँडाको एन्टेरिएल क्रुसियल लिगामेन्ट (एसिएल) च्यातिएपछि शल्यक्रिया गरेकी साम्बा टोलीमा उपलब्ध हुने छैन । यस्तै कोरोना पोजिटिभका कारण रेखा पौडेल पहिलो चरणमै बाहिर रहिन्। 

प्रशिक्षक ग्यारीले सार्वजनिक गरेको २३ सदस्यीय टोलीमा अनुभवीसहित नयाँ खेलाडी रहेका छन्। केही अनुभवी खेलाडी चोट लाग्नु, कोही भर्खरै कोरोना संक्रमणमुक्त हुनु, केही खेलाडीले आफ्नो लय अझै फर्काउन नसक्दा बंगलादेशविरुद्ध नयाँ खेलाडीले मौका पाउनेछन्। जसमा केही डेब्युसमेत हुने सम्भावना छ।

प्रशिक्षक ग्यारीले डिफेण्डर, मिडफिल्डर र स्ट्राइकर तिनै पोजिसनका खेलाडीलाई डेब्यु दिन सक्छन्। ग्यारीले नयाँ ७ बाट मिडफिल्डर प्रीति राई र सविता राना मगरलाई सुरुवाती–११ मै डेब्यु दिने सम्भावना छ। 

दोस्रो हाफमा भने स्ट्राइकर रश्मी घिसिङ र डिफेण्डर निशा थोकरले डेब्यु गर्न सक्छन्। यदि नेपालले गोल संख्या बढाएको खण्डमा स्ट्राइकर रजनी थोकर र डिफेण्डर सृजनासिंह ठकुरीले पनि पहिलो मैत्रीपूर्णमै डेब्यु गर्न सक्छन्। 

बंगलादेशविरुद्ध डेब्यु गर्न सक्ने ५ खेलाडी :

प्रीति राई

मिडफिल्डर प्रीतिले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। गत राष्ट्रिय लिगमा एपीएफबाट खेलेकी प्रीतिले दोस्रो प्रयासमा राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। लिगमा उनले दुई गोल गरेकी थिइन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी प्रीति भुटानमा भएको साफ यू–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन्। काठमाडौं निवासी प्रीति उमेर समूह यू–१५ को कप्तान हुन्। उनले यू–१९ टोलीबाटसमेत खेलेकी छन्। प्रीति हालको राष्ट्रिय टोलीको कान्छी सदस्य हुन्। प्रितीले बंगलादेशविरुद्ध सुरुवाती–११ मै डेब्युको सम्भावना छ। मुख्य स्ट्राइकर सावित्रा भण्डारी घुँडाको एन्टिरियल क्रियसिल लिगामेन्ट (एसिएल) शल्यक्रियापछि टोलीमा उपलब्ध नहुँदा प्रीतिले सावित्राको स्थान लिन सक्छिन्। प्रशिक्षक ग्यारीले प्रीतिलाई मिड लाइनसँगै अट्याकमासमेत परीक्षण गराएका थिए। 

सविता राना मगर 

राष्ट्रिय लिगमा सविता राना मगरले चौदण्डीगढीविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेकी थिइन्। सविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। उनी दोस्रो अवसरमा टोलीमा अवसर पाउँदै छिन्। सविताले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलेकी छन्। मिडफिल्डर सवितालाई प्रशिक्षकले आवश्यकताअनुसार अट्याकमा पनि बढाउन सक्छन्। तर परीक्षणका क्रममा सविताले धेरै मौका लेफ्ट विंगरबाट पाएकी छन्। अनुभवी खेलाडी अनिता बस्नेत आफ्नो लयमा नरहँदा साविताले सुरुवाती–११ मै डेब्यु गर्न सक्छिन्। 

निशा थोकर

अग्ली कदकी निशाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। महिला फुटबल र एकेडेमीको लागि उर्वरभूमि मानिने रौतहटको खेलाडी हुन् डिफेण्डर थोकर। उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन्। लिगको उपाधिसमेत एपीएफले जितेको थियो। यसअघि डिफेण्डर निशा १३औं साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन्। निशाले नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन्। निशालाई प्रशिक्षक ग्यारीले आवश्यकता र धेरै गोल निस्केको खण्डमा दोस्रो हाफमा डेब्यु गराउन सक्नेछन्। 

रश्मी घिसिङ

त्रिभुवन आर्मी क्लबकी रश्मी घिसिङ पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन्। उनले दोस्रो प्रयासमा टोलीमा स्थान बनाएकी हुन् । गत लिगमा रश्मीले एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन्। रौतहटकी रश्मीले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन्। मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) चोटका कारण टोली बाहिर रहेसँगै रश्मीलाई अट्याक लाइनमा प्रमाणित गर्ने अवसर छ । प्रशिक्षक ग्यारीले रश्मीलाई समेत सुरुवाती एघारमा खेलाउन सक्छन्। उनले हालसम्म सावित्राको विकल्प बताएका छैनन्। प्रशिक्षण क्रममा रश्मीले समेत सेन्टर फर्वाडको भूमिकामा खेलेकी थिइन्। यद्यपि रश्मीले दोस्रो हाफमा डेब्यु गर्न सक्छिन्। 

विमला विक

राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलासमेत पहिलो पटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन्। डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै २ गोल गरेकी थिइन्। विमलाले उमेर समूहमा यू–१५, १६ र १९ बाट खेलिसकेकी छन्। उमेर समूहमासमेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमा डेब्यु गर्ने प्रबल सम्भावना रहेको छ। तर सुरुवाती प्रशिक्षणमा प्रमाणित गर्न नसकेपछि राइट ब्याकमा प्रशिक्षकले विमलालाई दोस्रो हाफमा मात्रै डेब्यु दिन सक्छन्। पुजा रानाले यो पोजिसनमा राम्रो गरेकाले विमलालाई डेब्युका लागि दोस्रो मैत्रीपूर्ण कुर्नपर्ने सम्भावना छ। 

२३ सदस्यीय नेपाली टिम 

गोलरक्षक: अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ,
डिफेण्डर: अमृता जैशी, बिमल बिक, गिता राना, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, इन्दिरा राइ, सृजना सिंह ठकुरी,
मिडफिल्डर:  अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रेनुका नगरकोटे, सविता राना मगर, बिमला चौधरी,
स्ट्राइकर: अनिता केसी, रजनी थोकर,  रश्मि घिरिङ, सरु लिम्बु

नेपालको सम्भावित सुरुवाती ११ 

गोलरक्षक: एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर: हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर: सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर: सरु लिम्बु ।न्युज कारखाना 

Logo