राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

केन्द्रबिन्दु
0
Shares

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम आज शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । 

नेपाली टिम आज बिहान ११ः१५ बजे कतार प्रस्थान गरेको हो । 

कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्नेछन् । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ । त्यसपछि टिम कतारबाटै माल्दिभ्स जाने कार्यक्रम रहेको छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।

तेस्रो खेलमा नेपालले भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

 पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६  (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन् । 

Logo