कप्तानद्वय किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

कप्तानद्वय किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

केन्द्रबिन्दु
0
Shares

संविधान दिवसको अवसरमा राष्ट्र हितमा योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभुषणबाट सम्मानित गर्ने क्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई विभुषित गरिने भएको छ ।

सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरी कप्तानद्वयसहित संविधान दिवसका अवसरमा सम्मानित सम्पूर्णलाई विभुषित गर्नेछिन् ।

दुवै खेलाडी देशको प्रतिनिधित्व गर्दै अहिले विदेशी भूमिमा छन् । फुटबल टिमका कप्तान चेम्जोङ साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन् भने मल्लको कप्तानीमा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।

सरकारले जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाललाई पनि विभुषित गर्ने भएको छ ।

यस्तै पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्रीबाट विभुषित हुने भएका छन् ।

यस्तै, सरकारले सुकीर्ति पदकबाट करातेकी खेलाडी अनु अधिकारी, फुटबलकी विमला चौधरी, ट्रायथलनकी सोनी गुरुङ, तेक्वान्दोकी संगीता बस्याल, उसुकी जुनी राई, करातेका लक्ष्मण तामाङ, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभुषित गर्ने भएको छ ।

Logo