आइपिएलका महँगा १० खेलाडी (भिडियोसहित)

आइपिएलका महँगा १० खेलाडी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कोरोना भाईरसको कारण स्थगित ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) टी–ट्वान्टीको बाँकी खेलहरु गत आइतबारदेखि युएईमा सुरु भएको छ । 

आइपीएल २०२१ गत वर्षको चैत २७ (अप्रिल ९) मै सुरु भएको थियो तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएपछि गत वैशाख १८ (मे २) बाट बाँकी खेलहरु स्थगित गरिएको थियो । 

आइपीएलको अक्सन गत वर्षको फागुनमा चेन्नईमा सम्पन्न भएको थियो । अक्सनमा खेलाडीहरुलाई बिक्रीमा राखिन्छ, जसमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा बिक्री भए । 

मोरिसलाई राजस्थान रोयल्सले आइपीएल इतिहासकै सर्वाधिक उच्च कीर्तिमानी रकम १६ करोड २५ लाख भारु खर्चियो । यसरी उनी आइपीएलका सर्वाधिक महँगो खेलाडी बने । आज हामी आइपिएल २०२१ का सर्वाधिक १० महँगा खेलाडीहरुको बारेमा चर्चा गर्न गइरहेका छौं । 

यस्ता छन् आइपीएलका १० महँगा खेलाडीहरु: 

१. क्रिस मोरिस
(१६ करोड २५ लाख)

दक्षिण अफ्रिकाका तीव्र गतिका बलिङ अलरान्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारु खर्चिदै आइपीएल इतिहासकै सर्वाधिक उच्च कीर्तिमानी रकममा खरिद गरेको थियो । ३४ वर्षिय मोरिस आइपीएलका सर्वाधिक महँगो खेलाडी हुन् । मोरिसलाई खरिद गर्न पन्जाब, राजस्थान, मुम्बई र बेंगलोरबीच उच्च प्रतिस्पर्धा भएपछि उनले कीर्तिमानी मूल्य पाएका हुन् । 

मोरिसलाई गत सिजन बेंगलोरले १० करोड भारुमा अनुबन्ध गर्दै फुकुवा गरेको थियो । गत वर्ष १० करोडमा विकेका उनी यस पटक न्यूनतम मूल्य ७५ लाख राखेका थिए । मोरिस तीव्र गतिसँगै तल्लोक्रममा ठूला सट खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् । गत वर्ष बेंगलोरबाट खेल्दै मोरिसले ९ खेलमा ११ विकेट लिएका थिए । 

२. काइल जामिसन 
(१५ करोड)

न्यूजील्यान्डका २६ वर्षिय युवा तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसनलाई बेंगलोरले १५ करोड भारु खर्चिर्दै टोलीमा भित्र्याएको थियो । निकै महत्वपूर्णका साथ हेरिएका जामिसनले अपेक्षाअनुसार नै उच्च मूल्य पाएका थिए । 

जामिसन तीव्र गतिसँगै तल्लो क्रममा ठूला सट प्रहार गर्ने खेलाडी हुन् । त्यसैले बेंगलोरले आफ्नो तीव्र गतिको बलिङ समस्या सुधार गर्न उनीमाथि महँगो मूल्य खर्चिन पछि परेन । उनी पहिलो पटक आइपीएल अक्सनमा बिक्री भएका हुन् । अक्सनमा न्यूनतम मूल्य ७५ लाख मात्र तोकेका थिए ।

गत वर्ष भारतविरुद्ध डेब्यू गरेका जामिसनले त्यसयता लगातार उच्च प्रर्दशन गरिरहेका छन् । भारतलाई ओडिआई र टेष्ट सिरिजमा क्लिनस्विप गराउन जामिसनले घरेलु मैदानमा डेब्यूका साथ उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले घरेलु र अन्तर्राष्ट्रिय दुबैमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । 

३. ग्लेन म्याक्सवेल 
(१४ करोड २५ लाख)

अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई बेंगलोरले १४ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । ३२ वर्षीय म्याक्सवेलले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका थिए ।

म्याक्सवेल ठूला सटका लागि परिचित विश्व प्रसिद्ध फिनिसर हुन् । उनी पार्ट टाइम स्पिन बलिङ पनि गर्ने गर्दछन् ।
म्याक्सवेललाई गत वर्ष पन्जाबले १० करोड ७५ लाखमा अनुबन्ध गरेको थियो । तर खराब प्रदर्शनका कारण फुकुवा गरेको थियो । म्याक्सवेलको आगमनले बेंगलोरको फिनिसिङ लाइनअप झनै उत्कृष्ट बनेको छ । 

४. झेय रिचर्डसन 
(१४ करोड)

अष्ट्रेलियाका तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाबले १४ करोड भारु खर्चियो । २५ वर्षीय रिचर्डसन तल्लो क्रममा ठूलो सटको क्षमता राख्ने खेलाडी हुन् ।

गत वर्ष पन्जाबको तीव्र गतिका बलरको प्रदर्शन निकै कमजोर रहेको थियो । त्यसैले पनि रिचर्डसनमाथि पन्जाबले १४ करोड खर्चिन कुनै कन्जुस्याई गरेन । रिचर्डसनले पनि पहिलो पल्ट आइपीएल खेलिरहेका छन् । 

गत वर्ष सम्पन्न भएको बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचीमा शीर्षस्थान बनाएका थिए । रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् । 

५. कृष्णप्पा गौवथम 
(९ करोड २५ लाख)

भारतीय अफस्पिन अलराउन्डर कृष्णप्पा गौवथमलाई चेन्नइले ९ करोड २५ लाख भारुमा खरिद गरेको थियो । गत वर्ष पन्जाबमा उनी ६ करोड २० लाख भारुमा अनुबन्ध भएका थिए तर, गत वर्ष अधिकांश खेलमा उनी बेन्चमा देखिएका थिए । 

गौवथमले आफ्नो न्यूनतम मूल्य २० लाख भारु राखेका थिए । कर्नाटकबाट घरेलु क्रिकेट खेल्ने गौवथमलाई पन्जाबले यस सिजनमा फुकुवा गरेको थियो । उनले तल्लो क्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । 

६. राइली मेरीडिथ 
(८ करोड)

२४ वर्षिय अष्ट्रेलियाका युवा खेलाडी राइली मेरीडिथ तीव्र गतिका बलरका रुपमा चर्चित खेलाडी हुन् । राइलीलाई पन्जाबले ८ करोड रकममा अनुबन्ध गरेको थियो । राइलीले आफ्नो न्यूनतम मूल्य भने ४० लाख भारु राखेका थिए ।

तीव्र गतिका बलर उनले बिग ब्यासमा होबार्ट हरिकेन्सबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । अष्ट्रेलिया राष्ट्रिय टोलीमा भने उनी डेब्यूको पर्खाइमा छन् । 

७.मोईन अली 
(७ करोड)

स्पिन बलिङका साथै तल्लो क्रममा आक्रामक ब्याटिङ गर्ने इंग्ल्यान्डका स्पिन अलराउन्डर मोइन अलीलाई चेन्नईले ७ करोडमा अनुबन्ध ग¥यो । एक मात्र विदेशी कोटा खाली रहेको चेन्नईले ३४ वर्षीय अलीमाथि महँगो मूल्य खर्चेको थियो । अलीले न्यूनतम मूल्य २ करोड भारु राखेका थिए । 
अलीले गतवर्ष बेंगलोरबाट आइपीएल खेलेका थिए । 

८. शाहरुख खान  
(५ करोड २५ लाख )

पन्जाबले युवा फिनिसर शाहरुख खानलाई ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । शाहरुखले न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकेका थिए ।
२६ वर्षिय शाहरुखलाई किन्न पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । पछिल्लो समय उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी पार्टटाइममा बलिङ पनि गर्ने गर्दछन् । 

९. टम करन 
(५ करोड २५ लाख)

२६ वर्षीय इंग्ल्यान्डका युवा अलराउन्डर टम करनलाई दिल्ली क्यापिटल्सले ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले न्यूनतम मूल्य १ करोड ५० लाख तोकेका थिए ।

गतवर्ष राजस्थानले करनलाई न्यूनतम मूल्य १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले राजस्थानबाट अलराउन्ड प्रदर्शन गरेका थिए । 
करन इंग्ल्यान्डको सीमित ओभरको क्रिकेटमा पछिल्लो समय नियमित खेल्दै आएका छन् । उनले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् । 

१०. नाथन कुल्टर नाइल 
(५ करोड)

३३ वर्षीय अष्ट्रेलियन तीव्र गतिका बलर नाथन कुल्टर नाइललाई मुम्बई इन्डियन्सले ५ करोडमा अनुबन्ध गर्यो । नाइलले तल्लो क्रममा राम्रो ब्याटिङको समेत क्षमता राख्छन् । अघिल्लो सिजन मुम्बईबाट खेलेका उनलाई यस सिजनमा मुम्बईले नै फुकुवा गरेको थियो ।

Logo