को हुन् इपीएल खेल्ने शाहिद अफ्रिदी ?

को हुन् इपीएल खेल्ने शाहिद अफ्रिदी ?

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी आज नेपाल आइपुगेका छन् । 

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने इपीएलमा अफ्रिदीले काठमाडौं किङ्स–११ बाट खेल्ने छन् । काठमाडौंले विदेशी खेलाडीको रूपमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई टिममा अनुबन्ध गरेको छ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टोलीमा अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशोक चन्द, अमरसिंह रौटेला, गुल्शन झा छन् ।

यस्तै शाहिदबाहेक काठमाडौंमा विदेशी खेलाडीमा जिम्बाब्वेका अलराउन्डर रायन बर्ल, अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमाउल्ला गुरबाज र सिंगापुरका जनकप्रकाश पनि छन् ।

काठमाडौंले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ । 

यो सिजन काठमाडौं किङ्स–११ लाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । काठमाडौंले अनुबन्ध गरेको विदेशी खेलाडी र टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीको आधारमा टोलीको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

को हुन् शाहिद अफ्रिदी ?
पाकिस्तानी पूर्व कप्तान साहिबनादा मोहम्मद शाहिद खान अफ्रिदी दर्शकमाझ शाहिद अफ्रिदी नामले चिनिन्छ । यसबाहेक शाहिदलाई ‘बुम बुम’ र ‘लाला’ उपनामले समेत चिनिन्छ ।   

सन् १९७५ मार्च १ मा जन्मिएका अफ्रिदी अन्तर्राष्ट्रिय तथा टेष्ट क्रिकेट खेलाडी हुन् । उनी लोकप्रिय क्रिकेटरहरुमध्ये एक मानिन्छन् । आक्रामक ब्याट्सम्यानको छवि बनाएका उनी घातक लेग स्पिनर साथै अलराउन्डर पनि हुन् ।

अफ्रिदी एक विश्व कीर्तिमानधारी पनि हुन् । उनले सन् १९९६ मा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा ३७ बलमा शतक प्रहार गरेर कीर्तिमान बनाएका थिए । जतिबेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २ सय १७ दिन थियो । उनले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा धेरै छक्का हान्ने कीर्तिमान पनि राखेका छन् । 

टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने कीर्तिमान पनि अफ्रिदीको नाममा छ । उनले सन् २००७ देखि २०१६ सम्म ६.७१ को इकोनमीमा सर्वाधिक ३९ विकेट लिएका छन् । अफ्रिदीले ३४ म्याचमा ३९ विकेट लिएका हुन् ।

यसबाहेक अफ्रिदी टी–२० विश्वकपमा सर्वाधिक स्ट्राइकरेटमा ब्याटिङ गर्ने तेस्रो ब्याट्सम्यानसमेत हुन् । अफ्रिदीले सन् २००७ देखि २०१६ सम्मको विश्वकपमा कूल ३४ म्याच खेले । जसमा उनको स्ट्राइकरेट १५४.२३ रहेको थियो । अफ्रिदीले टी–२० विश्वकपमा १८.८२ को औसतमा ५ सय ४६ रन बनाएका छन् । जसमा उनको वेष्ट स्कोर अविजित ५४ रन हो । 

पाकिस्तानका लागि सन् १९९६ मा केन्याविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अफ्रिदीले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यसबीचमा उनले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एक दिवसीय र ९९ ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन् । आफूलाई ब्याट्सम्यानभन्दा राम्रो बलर ठान्ने अफ्रिदीले बलिङको आधारमा एकदिवसीयमा ३९५ विकेट र ४८ टेष्ट विकेट लिएका छन् । यसका साथै उनले टी–२० मा ९८ विकेट पनि लिएका छन् । 

उनले २०११ मा क्रिकेट विश्वकपमा पाकिस्तानी टोलीको नेतृत्व गरेका थिए । तर, सन् २०१६ को टी–२० विश्वकपबाट पाकिस्तानको समूह चरणबाट बाहिरिएपछि उनले कप्तानी छाडेका थिए । त्यसपछि पनि टीममा नपरेपछि अफ्रिदीले मे ३१, २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । 

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि अफ्रिदी पछिल्लो समय विश्वभरका फ्रेन्चाईज लिगमा व्यस्त छन् । घरेलु रुपमा अफ्रिदीले धेरै टीमको प्रतिनिधित्व गरेका छन् । सन् २०१६ मा पाकिस्तान सुपर लिगमा पिएसएलमा पेशावर जाल्मीका कप्तान थिए । २०१७ मा अफ्रिदीले आफ्नो टीमलाई ट्रफी जिताएका थिए । त्यसपछि उनले २०१८ मा कराची किङ्सको प्रतिनिधित्व पनि गरेका थिए । 

हाल उनी मुल्तान सुल्तानबाट खेल्छन् । पिएसएलको पहिलो र दोस्रो संस्करणबाट खेलेका उनले दोस्रो संस्करण टोलीलाई उपाधि जिताएका थिए । 

देशबाहिर अफगानिस्तान प्रिमियर लिग, ग्लोवल ट्वेन्टी ट्वेन्टी क्यानडा, युरो ट्वेन्टी ट्वेन्टी स्लाम, बंगलादेश प्रिमियर लिग पनि उनले खेलेका छन् ।

समाजसेवामा पनि अफ्रिदीको लगाब

क्रिकेटबाहेक अफ्रिदीले आफ्नै परोपकार शाहिद अफ्रिदी फाउन्डेसन सञ्चालन गर्छन् । जसको उद्देश्य शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु हो । उनले युनिसेफसँग मिलेर देशमा पोलियोबिरुद्ध अभियानलाई बढावा दिनको लागि पनि काम गर्छन् । २०१९ को कोरोना भाइरस महामारीको समयमा देशमा लकडाउन अवधिभर मानिसहरुलाई मद्दत गर्नमा संलग्न थिए । 

समाजसेवामा अग्रसर अफ्रिदी २०१५ को शीर्ष २० परोपकारी एथलिटहरुको सूचीमा समेत परेका थिए । 

Logo