विश्वका ७ लिजेण्ड खेलाडीहरू (भिडियोसहित)

विश्वका ७ लिजेण्ड खेलाडीहरू (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

खेल अथवा खेलकुद विश्वमा सबैभन्दा रमाइलो प्रतिस्पर्धा हो, जुन विश्वमा धेरैले रुचाउने गर्छन् ।

 विश्वमा धेरै प्रकारका खेलहरु छन् जसबाट धेरै खेलाडीहरुले आफ्नो नाम उच्च बनाएका छन् । तीमध्ये आज हामी विश्वका ७ लिजेण्ड खेलाडीहरुको बारेमा चर्चा गर्न गइरहेका छौं । जसले खेल जीवनबाटै प्रशस्त नाम र दाम कमाएका छन्। 

माइकल फ्लेप्स (पौडीवाज)

३६ वर्षीय माइकल फ्लेप्सलाई पानीमुनि उड्ने सबैभन्दा छिटो मानव भनेर चिनिन्छ । ओलम्पिक खेलको इतिहासमा अमेरिकी पौडीबाज माइकल फ्लेप्सको नाम स्वर्ण अक्षरमा लेखिएको छ । तीन ओलम्पिक खेलको दौरानमा फ्लेप्सले एक अभूतपूर्व इतिहास रचे ।

खेलकुदको महाकुम्भ ओलम्पिकमा उनले जुन रेकर्ड बनाएका छन्, त्यो आश्चर्यचकित छ। उनका यी उपलब्धीहरु अरु खेलाडीलाई तोड्न मुश्किल हुनेछ । 

फ्लेप्सले सिड्नी २०००, एन्थेस २००४, बेइजिङ २००८, लन्डन २०१२, र रियो २०१६ का ओलम्पिक खेलहरुमा सहभागि भएका थिए। जसमा २३ स्वर्णपदक, तीन रजत र दुई कास्यसहित कुल २८ ओलम्पिक पदक जितेको छ। 

पदक मात्र होइन फ्लेप्स विश्व कीर्तिमानमा पनि अग्रस्थानमा छन् । उनको नाममा कुल ४० वटा विश्व कीर्तिमान छन्। ४० मध्ये ३९ कीर्तिमान उनले पौडीमा बनाए । जसलाई अन्तर्राष्ट्रिय पौडी महासंघ फिनाले मान्यता दिएको छ । उनले २९ व्यक्तिगत विश्व कीर्तिमान र १० रिले कीर्तिमान बनाएका छन् । 

उनले ७वर्षको उमेरमा पौडी खेल्न सुरु गरेका थिए । १५ वर्षको उमेरमा उनले सिड्नीमा ओलम्पिक खेलहरुमा भाग लिए । त्यतिबेला उनी २०० मिटर बटरफ्लाई विधाको पाँचौ स्थानमा रहे । यो उनको उमेरको लागी एक महान् उपलब्धि थियो ।माइकल लोकप्रिय बाल्टीमोर बुलेट र फ्लाईङग फिशको नामले पनि परिचित छन्।

पेले (फुटबल)

फुटबल जगतमा ब्राजिलियन पूर्वमहान फुटबलर पेलेको नाम नसुन्ने व्यक्ति सायदै वीरलै होलान्। पेले २० औं शताब्दीमा एक फुटबलको राजा भनेर चिनिन्थे। उनी २० औं शताब्दीका एक सफल र लोकप्रिय खेलाडी हुन्। फुटबललाई विश्वव्यापी खेल बनाउनका लागि सबैभन्दा ठूलो योगदान नै पेलेको छ । 

पेलेको खेल कौशल र प्रतिभावान प्रदर्शनलाई अहिले पनि सम्झिने गरिन्छ। उनलाई २०१२ मा फिफालेसर्वश्रेष्ठ खेलाडीको उपमा प्रदान गरेको थियो । 

सन् १९४० अक्टोबर २३ मा ट्रेस कोरकोएस ब्राजिलमा जन्मिएका पेलेले आफ्नो खेल जीवनमा कुल १ हजार ३ सय ६३ खेल खेले। जसमा उनले कुल १ हजार २ सय ७९ गोल गरे जुन वल्र्ड रेकर्डको रुपमा मान्यता प्राप्त छ । 

पेलेले टिनएजरको रूपमा सन् १९५८ को विश्वकप उपाधि जित्न सफल भएका थिए । उनले उक्त फाइनलमा गोलसमेत गरेका थिए। उनले सन् १९६२ मा पनि विश्वकप जितेका थिए भने सन् १९७० मा पनि विश्वकप जिताउँदै ३ पटकको कीर्तिमान बनाउँदै विजेता बन्न सफल भए।

पेलेलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले एथलिट अफ सेञ्चुरी घोषित गर्याे र २० औं शताब्दीका एक सय महत्वपूर्ण व्यक्तिहरुको सूचीमा सामेल भएका थिए। पेलेले १५ वर्षको उमेरमै सान्तोस क्लब र ब्राजिलको राष्ट्रिय टोलीबाट फुटबल खेल्न सुरु गरेका थिए । 

सचिन तेन्दुलकर (क्रिकेट)

सन् १९७३ अप्रिल २४ मा जन्मेका सचिन तेन्दुलकर भारतका एक पूर्व अन्तर्राष्ट्रिय महान क्रिकेटर हुन्। उनले भारतीय राष्ट्रिय टोलीको कप्तानको रुपमा सेवा गरेका थिए। उनलाई क्रिकेट इतिहासमा एक लिजेण्ड मानिन्छ । 

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने तथा एक सय अन्तर्राष्ट्रिय शतक बनाउने एक मात्र खेलाडी हुन्। साथै एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान हुन्। दुबै टेस्ट र एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रनको रेकर्डको धारक र एकमात्र खेलाडी सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजारभन्दा बढी रन पुरा गरेका छन्। त्यसैले उनलाई क्रिकेटका भगवानसमेत भनिन्छ।

उनी ‘लिटिल मास्टर’ र ‘मास्टर ब्लास्टर’को नाममा परिचित छन्। 

तेन्दुलकरले ११ वर्षको उमेरबाट क्रिकेट खेल्न सुरु गरेका थिए। उनले सन् १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा १५ वर्षको उमेरमा टेस्ट डेब्यू गरेका थिए। त्यसपछि मुम्बईमा २४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गरे। त्यसपछि सचिन भारतीय टीमको एक हिस्सा बने । 

सन् २०११ मा भारतले विश्वकप जित्यो जुन भारतकालागि सचिनको पहिलो सफलता थियो। तेन्दुलकरले खेल रत्न पुरस्कार, भारतको सर्वोच्च खेल सम्मान, पद्माश्री र पद्म विभुषण पुरस्कार, भारतको चौथो र दोस्रो सर्वोच्च नागरिक पुरस्कार प्राप्त गरेका थिए। उनी रत्न पुरस्कार पाउने कान्छो तथा पहिलो खेलाडीसमेत हुन्। 

स्व.डिएगो म्याराडोना (फुटबल)

सन् १९६० अक्टोबर ३० मा अर्जेन्टिनामा जन्मिका फुटबलर डिएगो म्याराडोना आफ्नो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै दुईमत छैन । तर उनले गत वर्ष हृदयघातका कारण ६० वर्षको उमेरमै ज्यान गुमाए । म्याराडोनालाई न कुनै परिचयको खाँचो छ न त कुनै उपमाको । आफैंमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समेटिएको नाम हो, म्याराडोना। उनीपेलेका सच्चा उत्तराधिकारी पनि थिए । उनले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो छ उनको सफलता । 

अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनेस एयर्सको लानुसमा जन्मेको बालकको नाम हो ‘डिएगो अर्मान्डो म्याराडोना फ्रान्को’। उनले आठ वर्षको उमेरमै स्थानीय क्लब इस्ट्रला रोजामा खेलेका थिए । 

१६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका उनले ९१ खेलमा ३४ गोल गरेका थिए । उनले आफ्नो टोलीलाई दुई पटक विश्वकपको फाइनलमा पुर्याएका थिए।म्याराडोना र विश्वकपको कुरा गर्दा सम्झनामा आउँछ उनले सन् १९८६ को विश्वकपमा हातले गरेको गोल।

क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध उनले हातले गरेको गोल विश्व फुटबलको एक अनौठो गोल मानिन्छ । जुन गोलपछि ‘ह्याण्ड अफ गड’का रुपमा परिचित भयो। यही वर्ष म्याराडोनाको टिमले विश्वकपको उपाधि उचाल्यो । जसमा उनले गोल्डेन बुटसमेत प्राप्त गरे।

सन् १९९४ को विश्वकपमा भने उनी लागूऔषध जाँचमा असफल भएका कारण बिचबाटै घर फर्किन बाध्य भएका थिए। म्याराडोनाको कोकिनसँगको प्रेमले नापोलीमा लतको रुप लियो।मैदानमा बलसँग रमाउने उनी त्यसबाहिर कोकिनमा झुम्न थाले। यसले उनलाई फुटबलबाट १५ महिनासम्म प्रतिबन्धको अँध्यारोमा धकेलेको थियो। 

रोजर फेडरर (टेनिस)

रोजर फेडरर एक महान टेनिस खेलाडीको रुपमा चिनिन्छन्। फेडररले २० ग्रान्ड स्लाम पुरुष एकलच्याम्पियनशिपको कीर्तिमान राखेका छन् । यसबाहेक फेडररले १०३ एकल उपाधि पनि जितेका छन् । फेडरर संसारको सबैभन्दा धनी खेलाडीहरुभित्र पर्छन् । 

रोजर फेडररको जन्म सन् १९८१ अगस्ट ८ मा बेजिल स्विट्जरल्याण्डमा भएको थियो । उनी सानैदेखि खेलकुदमा रुचि राख्थे । उनले ८ वर्षको उमेरमा फुटबल र टेनिस खेल्न थालेका थिए। 

रोजर ११ वर्षको उमेरमा आफ्नो देशको शीर्ष जुनियर टेनिस खेलाडीहरु मध्ये एक थिए। १४ वर्षको उमेरमा स्वीट्जरल्याण्डको राष्ट्रिय जुनियर च्याम्पियन बने। सन् १९९८ मा उनले विम्बन्डन जुनियर उपाधि जिते। उनी ग्रान्ड स्लामएकल उपाधि जित्ने पहिलो स्विस पुरुष खेलाडी हुन्।

उनले सन् २०१७ मा ३५ वर्षको उमेरमा कीर्तिमानी आठौं विम्बल्डन उपाधि जिते। २००३ मा उनले आफ्नो पहिलो ग्रान्ड स्लाम जिते। फेडररले अष्ट्रेलिइन ओपन, युएस ओपन र एटीपी मास्टर टुर्नामेन्ट जिते। त्यसपछि उनी एटीपी (एसोसिएशन अफ प्रोफेशनल्स) रेकिंङको शीर्ष स्थानमा पुग्यो।

उनले लगातार चार वर्षसम्म आफ्नो शिर्ष स्थान कायम राखेका थिए। उनले २००६र २००७ मा एकल च्याम्पियनशिप पनि जिते। जसका कारण उनले २००५–२००८ विश्व खेलाडी अवार्ड पाए। 

माइकल जोर्डन (बास्केटबल)

माइकल जोर्डन पूर्व बास्केटबल खेलाडी तथा एक सफल व्यवसायिक हुन्। उनीलाई बास्केटबलको सबैभन्दा महान खेलाडीको रुपमा मानिन्छ । उनी२० औं शताब्दीका महान् एथलीट थिए । जोर्डनको जन्म सन् १९६३ फेब्रुअरी १७ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो ।

उनले एनबीएमा १५ सिजन खेले। उनले शिकागो बुल्सको लागि खेल्दा ६ पटक च्याम्पियनशिप जिते । जोर्डन सबै समयको सबैभन्दा महान बास्केटबल खेलाडी हुन्, आधिकारिक एनबीए वेबसाइटमा पनि लेखिएको छ । 

उनी सन् १९८० र १९९०को दशकमा एनबीएलाई विश्वभर लोकप्रिय बनाउन मद्दत गर्ने अभिन्न अंग थिए । त्यसैले उनलाई विश्वभर एनबीएलाई लोकप्रिय बनाउनको लागी श्रेय दिइन्छ । 
उनको उफ्रिने क्षमता र स्लाम डंकका कारण ‘एयर जोर्डन’ र ‘हिज एयरनेस’ उपनाम कमायो । 

जोर्डनले सन् १९९१ मा बुल्सबाट आफ्नो पहिलो एनबीए च्याम्पियनशिप जितेका थिए । 

६ पटकको एनबीए फाइनलमा सबैभन्दा मूल्यवान खेलाडीको रुपमा स्थापित भएका उनी एमभीपी पुरस्कार ६ पटक विजेता हुन्। सन् १९९९ मा उनी इएसपीएनद्वारा २० औं शताब्दीका सबैभन्दा महान् एथलीट भए । 

उसैन बोल्ट (धावक)

उसैन बोल्टको जन्म २१ अगस्ट, सन् १९८६ मा जमैकामा भएको थियो । उनीओलम्पिकमा तीन पटक स्वर्ण पदक विजेता हुन्। उसैन १०० मिटर र २०० मिटर तथा४ गुणा१००मिटर रिले दौडको विश्व कीर्तिमान धावकपनि हुन्। उनले यी सबै तीन दौडका लागिओलम्पिक कीर्तिमान राखेका छन्। 

सुरुवाती चरणमा जमैका रिले स्प्रिन्ट टीमको एक सदस्यको रुपमा बोल्टले दुई रजत पदक जितेका थिए । ४ गुणा १०० मिटर र ४ गुणा ४०० मिटर रिले दौडमा क्रमशः ३९.१५ सेकेण्ड र ३ः०४.०६ को समयसँगै उनले एक नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरे। २०० मिटर स्पर्धामाबोल्टको जितले उनी विश्वकै सबैभन्दा कनिष्ठ स्वर्ण पदक विजेता बने ।

पदकको सिलसिला उनले २००३ मा युवा विश्व च्याम्पियनशिपमा अर्को स्वर्ण पदक जिते। जसमा उनले२०.४० सेकेन्डको समयसहित १.१ सेकेन्डको गतिमा २०० मिटर स्पर्धा जित्दै नयाँ च्याम्पियनशिप कीर्तिमान बनायो । 

सन् २००८ मा बोल्टले १०० मिटरमा विश्व कीर्तिमान कायम गरे। बोल्टले १०० मिटरको दुरी ९.६९ सेकेन्डमा पुरा गरेका थिए। उनले बेइजिङ ग्रीष्मकालीन ओलम्पिकमा १०० र २०० मिटर दौडमा भाग लिएका थिए । जसमा उनले फाइनलमा स्थान बनाएर फाइनलमा उनले २०० मिटरको दौड १९.१९ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए। 

चार वर्षपछि लण्डन ओलम्पिकमा बोल्टले फेरी एक पटक स्वर्ण जिते। उनले ४ गुणा १०० मिटर रिलेमा अर्को विश्व कीर्तिमान कायम गरे । बोल्टको अतुलनीय गतिले उनलाई विश्व कीर्तिमान तोड्न मद्दत गरेको छ ।

Logo