नेपाली टिम साफ खेल्न माल्दिभ्समा

नेपाली टिम साफ खेल्न माल्दिभ्समा

केन्द्रबिन्दु
0
Shares

कतारमा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली साफ च्याम्पियनसिपको लागि माल्दिभ्स पुगेको छ । 

कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार कतारबाटै माल्दिभ्स पुगेको हो । कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । 

साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए । 

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ । 

त्यस्तै, नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६  (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन् । 

Logo