इपीएलः भैरहवा र ललितपुरबीचको खेल बराबरी

इपीएलः भैरहवा र ललितपुरबीचको खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार ललितपुर र भैरहवाबीचको रोमान्चक खेल ‘टाइ’ भएको हो ।

ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो  ।
स्कोर बराबर भएपनि खराब प्रकाशको कारण सुपर ओभर भएन र दुबै टोलीलाई एक एक अंक दिइयो । 

भैरहवाका लागि उपुल थरंगाले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । शरद ६ रनमा अविजित रहे । 

यस्तै कुशल मल्ल ३५ रन तथा आरिफ शेखले २८ रनमा आउट भए । तमिम इकबालले १४ रन बनाए । प्रदिप ऐरी र रोहित पौडेल समान २÷२ रनमा आउट भए ।

ललितपुरका राशिद खानले ३ तथा रिजन ढकालले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

ललितपुरविरुद्ध एक अंक पाएपछि भैरहवा शीर्ष स्थानमा उक्लिएको छ  । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ  । भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो  ।

ललितपुरले भने पहिलो एक अंक पाएको छ  । ललितपुर ३ खेलमा १ अंक जोडेर पाचौं स्थानमा रहेको छ  । पहिलो खेलमा काठमाडौं किङ्स–११सँग पराजित ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग पराजित भएको थियो ।

Logo