ईपीएलः विराटनगरलाई हराउदै ललितपुरको पहिलो जित

ईपीएलः विराटनगरलाई हराउदै ललितपुरको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ । 

त्रिवि क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनायो । 

विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे । सिकन्दर राजा २४ रनमा आउट भए ।
 
त्यस्तै, अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रनमा आउट हुँदा सौरभ खनाल सुन्य रनमा आउट भए ।  बसन्त रेग्मी ९ रनमा अविजित रहदा प्रतिष जिसीले अविजित ४ रन बनाए ।
ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए ।  ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौथो स्थानमा उक्लिएको छ । विराटनगरको भने यो लगातार तेस्रो हार हो । अंकविहीन विराटनगर पुछारमा रहेको छ ।

Logo