त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपाललाई, फाइनलमा पीएनजी ५० रनले पराजित

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपाललाई, फाइनलमा पीएनजी ५० रनले पराजित

केन्द्रबिन्दु
0
Shares

नेपालले घरेलु मैदानमा भएको त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । यो सन्दीप लामिछानेको कप्तानीमा नेपालले जितेको पहिलो सिरिज हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११८ रनमा अलआउट भयो ।

पीएनजीका लागि सेसे बाउले ५९ रन बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख्य पारी खेल्न सकेनन् । ७ जनाले दोहोरो अंकको स्कोर गर्न नसकेका पीएनजीका थप २ जना ब्याट्सम्यान गोल्डेन डक आउट भएका थिए । चाल्स अमिनीले १५ रन बनाए । 

पीएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४, करण केसीले ३ र सन्दीप लामिछानेले २ विकेट झारे ।  

दीपेन्द्रले आफ्नो स्पेलमा १८ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सन्दीपले आफ्नो स्पेलमा २५ रन खर्चे र २ विकेट झारे । ३ ओभर मात्र बलिङ गरेका करणले २७ रन खर्चेर ३ जनालाई पवेलियनको बाटो देखाए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि नटआउट रहँदै दीपेन्द्रसिंह ऐरीले ५४ र करण केसीले ३३ रन बनाए ।

आसिफ शेख २९, कुशल भुर्तेल २५, आदिल आलम १५ रनमा आउट भए । आरिफ शेख र दिलिप नाथले खातै खोल्न पाएनन् भने रोहित पौडेल २ रनमा आउट भए । 

पीएनजीका सेमो कामियाले ३ तथा चाद सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक एक विकेट लिए ।

सिरिजमा २५५ रन बनाउँदै ७ विकेट लिएका दीपेन्द्रसिंह ऐरी म्यान अफ द सिरिज भए । उनी म्यान अफ द म्याच पनि चुनिए । 

दीपेन्द्रको एक हजार रन

राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले टी९२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । दिपेन्द्रले ३४ खेलबाट १ हजार रन पूरा गरेका हुन्।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछि पारस खड्का हुन् । उनले सन्यास अघि ७ सय ९९ रन बनाएका थिए । 

Logo