आजदेखि धरहरामा छ सय जनामात्रै चढ्न पाउने, आइतबारसम्मका लागि भयो टिकट बुक

आजदेखि धरहरामा छ सय जनामात्रै चढ्न पाउने, आइतबारसम्मका लागि भयो टिकट बुक

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । सर्वसाधारणका लागि बिहीबारदेखि धरहरा चढ्न खुला गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेको बताए ।

उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेका छन् ।

तर शुक्रबारदेखि व्यवस्थित रूपमा छ सय जनाका लागि मात्रै चढ्न दिइने भएको छ । धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जीआईटीसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो । विसं २०७८ बैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका थिए ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जीओभी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ । विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो ।

त्यसैगरी विसं २०७२ बैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । यसैगरी विसं २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गरेका थिए ।

Logo