ताप्लेजुङको विकास र समृद्धिमा पाथीभरा केबलकार कोसेढुङ्गा साबित हुनेछः अध्यक्ष ढकाल

ताप्लेजुङको विकास र समृद्धिमा पाथीभरा केबलकार कोसेढुङ्गा साबित हुनेछः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केबलकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताएका हुन् ।

यस्तै उनले उक्त आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरेका छन् । उनले पाथीभरा केबलकारमा स्थानीयहरूलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताएका छन् ।

उनले स्थानीयहरूलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए ।

संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताएका छन् ।

उनले पाथीभरा केबलकार निर्माणका लागि सबै प्रक्रिया पूरा भएको बताउँदै केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको जानकारी गराएका छन् ।

पाथीभरा केबकार आयोजना आईएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताएका छन् । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यावसायिक गतिविधि र राजस्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताए ।्

उनले भने,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरूलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौँ । स्थानीय मानिसहरूलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्‍यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरूलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौँ ।’

उनले अगाडि भनेका छन्, ‘हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौँ । समग्र मुलुकको पर्यटन प्रवर्द्धनमा केबकारले ठूलो भूमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौँ भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाका लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिएँ । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो । फाइदामात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरूलाई रोजगारी दिन चाहन्छौँ ।’

Logo