स्थानीय सरकारले चासो देखाएपछि गुमनाम चाङलुङ गुफामा चहलपहल बढ्दै

स्थानीय सरकारले चासो देखाएपछि गुमनाम चाङलुङ गुफामा चहलपहल बढ्दै

केन्द्रबिन्दु
0
Shares

तेह्रथुमको पश्चिमी क्षेत्र छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। केही बर्षअघिसम्म गुमनाम यो गुफा बारे स्थानीय सरकारले चासो देखाएपछि आन्तरिक पर्यटकको रोजाइमा परेको हो। 

झोर, झाडी तथा जंगलले ढागेको गुफामा केही वर्ष अघिसम्म मानिसहरू जानै डराउँथे । मचिन्द्र देवीको काखमा रहेको गुफा ढुङ्गै ढुङ्गाको चाङमा छ। यो गुफालाई लिम्बु भाषामा चाङलुङ अर्थात ढुङ्गाको खातैखात भन्ने बुझिन्छ। स्थानीय सरकार गठन भएपछि गुफा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरू निर्माण सुरु भएका छन्। यहाँ आउने पर्यटकलाई बस्नलाई सहज होस् भन्ने उदेश्यले गुफाको विभिन्न ठाउँमा बिश्रामस्थलहरू बनाइएका छन्। गुफा क्षेत्रलाई सफा राख्न व्यावस्थित शौचालय निर्माण गरिएको छ। यो गुफा करिब एक सय ५० मिटर लामो छ।

गुफा नजिकै सिंहले पानी खाँदै गरेको मुर्ति निर्माण गरिएको छ। वनभोज स्थल, सिडी, रेलिङलगायतका काम भएको र गुफालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए। गुफाको टुप्पोमा निर्माण भइरहेको भ्यु टावरसँगै बाघको मुर्ति पर्यटकहरूको मुख्य आकषर्ण बन्दै आएको छ। गुफामा पुगेपछि सोचेभन्दा छुट्टै प्रत्याभुत गरेको पर्यटक राजकुमार लिम्बूले बताए। ‘गुफाको नाम त सुनेको हो तर यस्तो रमाइलो छ भन्ने लागेको थिएन,’ उनले भने।  

गुफाको प्रचारप्रसार बढेसँगै यस क्षेत्रका आन्तरिक पर्यटकहरू भित्रिन थालेका छन्। चाडपर्व तथा सर्वजानिक बिदाको दिन पर्यटकहरू गुफामा पुग्ने गरेका छन्। कोरोना कहरका कारण गतबर्षदेखि पर्यटकको संख्या कमी आएका थियो। कोरोना संक्रमण दरमा कमी आएपछि यहाँ पर्यटक आउने क्रम बढ्न थालेको स्थानीय कमान सिंह आँखेवाले बताए। 

कसरी पुग्ने गुफामा ?
कोशी राजमार्गको सिधुवाबाट करिब १६ किलोमिटर यात्रा गरेपछि गुफामा पुगिन्छ। गुफामा साना तथा ठूला सवारीसाधनबाट सहजै पुग्न सकिन्छ। सिधुवा शुक्रबारे नौ किलोमिटर सडक पार गरेपछि छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा पुग्न सकिन्छ। गुफासम्म पुग्ने राम्रो सडक छ। 

शुक्रबारेबाट हिउँदको समयमा अटो पाइने भएकाले जुनसुकै समयमा पनि जान सकिन्छ। मोटरसाइकल तथा साना सवारीसाधन पुग्ने भएकोले यात्रामा समस्या छैन। 

धनकुटा सिधुवाबाट बसबाट जाने हो भने एक सय २० रुपैयाँले शुक्रबारे बजार पुगिन्छ। गुफा नजिकै व्यावस्थित होटल नभए पनि शुक्रबारे बजारमा आएर पर्यटक बास बस्नको लागि समस्या छैन। गुफा नजिकै चाङलुङ बजार छ। बजारमा खाना र नास्ता सहजै पाए पनि राम्रा होटेल छैनन्। 

प्रचारप्रसार र संरक्षणका अझै आवश्यक 
केहीँ बर्ष अघिदेखि मात्रै प्रचारमा आएको यो गुफा अझै प्रचाप्रसारको आवश्यक रहेको छ। गुफालाई पर्यटकीय रुपमा विकास गर्न विभिन्न स्थानहरूमा होर्डिङ बोर्ड राख्दै प्रचार गर्नु पर्ने देखिन्छ। गुफालाई स्थानीय र प्रदेश सरकारले गर्दै आएको लगानीलाई निरन्तरता दिँदै गुफा क्षेत्रमा होम स्टे निर्माण गर्नु पर्ने देखिन्छ। प्रचारप्रसार र संरक्षणका लागि गुफा संरक्षण समिति र स्थानीय सरकारले चासो देखाउन सके उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा गुफालाई विकास गर्न सकिन्छ।न्युज कारखाना

Logo