काेराेनाले तंग्रिन नपाएका बन्दीपुरका ‘होमस्टे’

काेराेनाले तंग्रिन नपाएका बन्दीपुरका ‘होमस्टे’

केन्द्रबिन्दु
0
Shares

दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना बन्द भयो। दोस्रो लहरको प्रभाव कम हुँदै जनजीवन सामान्य लयमा फर्किएपछि पछिल्लो साता होमस्टेमा बल्ल पाहुना राख्न थालिएको छ। १४ मंसिरदेखि होमस्टे पाहुनाका लागि खुल्ला गरिए पनि फेरि बन्द गर्नु पर्ने समस्या छ ।

होमस्टे खुलेपछि अलिअलि पाहुना आउन थालेका होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । तर, फेरि अर्काे भेरियन्टले त्रसित बनाएकाे उनी बताउँछन् । उनले भने, 'त्यसले फेरि थला पार्ने हो कि भन्ने लागिरहेकाे छ ।’  आर्थिक अवस्था उकास्न ग्रामीण पर्यटन रोजेका सर्वसाधारणलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले सुनाए। पर्यटक बढेर लय समात्न नपाउँदै फेरि बन्द गर्नुपर्ने अवस्था आउने हाे कि भनेर चिन्ता थपिएको उनले बताए।

गुरुङ समुदायको बाहुल्यता रहेकाे टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा आएको हो। २०७५ सालपछि भने यहाँ आन्तरिक र बाह्य पर्यटक नियमित जस्ताे पुग्न थालेका थिए। हाेमस्टेसँगै बसाइसराई राेकिएर गाउँ पाहुनाले गुज्जार हुँदै थियो। घरभरि पाहुना भरिभराउ हुँदा गाउँले उत्साहित भएका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू पनि गाउँ फर्किएर होमस्टे सञ्चालन गर्न थालेका थिए। तर, गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन बढी मार परेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए। बामे सर्दै गरेको होमस्टेको पुर्वाधार विकासले पाहुनाविहिन हुँदा गति लिन नसकेको उनको भनाइ छ।

टुनेपानीका हाेमस्टे व्यवसायीकाे अवस्थाभन्दा फरक छैन व्यास नगरपालिका–१३ मा रहेकाे आपस्वाँरा दलित सामुदायिक होमस्टेको पनि। होमस्टेमा विस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइ दियो । कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेपछि पाहुनाविहिन भएपछि होमस्टे सञ्चालकहरू खेती किसानीमा लागेका छन्।  

विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । २०७६ सालको चैतबाट देशव्यापी निषेधाज्ञा सुरू भएपछि पाहुनाविहिन भएको होमस्टे अझै तङग्रिन सकेको छैन। अहिले होमस्टे खुल्ला गरिएको त छ तर छिटफुट आन्तरिक पाहुनाबाहेक  विदेशी नआएको होमस्टे सञ्चालक रेशम विकले बताए। ‘हामीकहाँ आउने धेरैजसो पाहुना विदेशी हुन्थे। कोरोना महामारी सुरू भएपछि नेपाल घुम्न आउने विदेशी बन्द जस्तै भए। त्यसैको प्रभाव हामीले चलाएको होमस्टेमा देखिन्छ। कहिलेकाही आन्तरिक पाहुना आउँछन्, उत्साहजनक आगमन छैन’, उनले भने । होमस्टेमा पाहुना नभएर फुर्सदिला भएका सञ्चालकहरू माहामारीको दुई वर्ष पूर्वाधार सुधार र अर्गानिक उत्पादनमा लागेको विकले उल्लेख गरे।

बन्दीपुरमा चहलपहल कम

बन्दीपुर बजार आसपासमा सञ्चालित होमस्टे दसैँ पछाडि पाहुनाले भरिए। दसैँको घटस्थापनापछि सुनसान बन्दीपुर बजारमा पर्यटकको निकै चहलपहल सुरू भएकाे थियो । बन्दीपुरमा पर्यटक बढेसँगै बजारसँगै रहेको बन्दीपुर सामुदायिक होमस्टेमा दैनिक ५० देखि एक सय ५० जनासम्म पाहुना राख्ने गरेको होमस्टे सञ्चालक सीता विकले बताइन् । ‘पाहुना बढेर कोरोना अगाडिकै अवस्थामा फर्किएला झैँ आशा पलाएको थियाे । दसैँदेखि पाहुनाको स्वागत सत्कारमा सञ्चालक दिदीबहिनीको व्यस्तता बढाएको छ,’ विकले भनिन्, ‘फेरि अर्को भेरियन्टकाे हल्ला छ। होमस्टे सुनसान हुने चिन्ताले सताएको छ।’ यहाँकाे होमस्टे महिलाले मात्रै चलाएका हुन् । पहिलो र दोस्रो लहरको कोरोनाले होमस्टे बन्द भएपछि सञ्चालक महिलाको आयआर्जनको स्रोत बन्द भएको विकले बताइन् । ‘घरव्यवहार चलाउन मुस्किल भयो । पाहुनाविहिन हुँदा धेरै फुर्सदिला भयौँ,’ उनले सुनाइन् । 

कोरोना संक्रमण फैलनु अगाडिसम्म तनहुँमा गाउँ गाउँमा होमस्टे खोल्ने लहर चलेको थियो। गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झण्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए। अनुदान लिएर सुरू गरेका होमस्टे कोरोनापछि ठप्प छन् । कतिपय होमस्टेमा पाहुना शून्य छन्। चल्तीका होमस्टे टुटेपानी, आपस्वाँरा, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् ।

चार वर्ष अगाडि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भिमाद नगरपालिका-९ भानुमतिको पाथर्दी सामुदायिक होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन सकेको छैन्। व्यवसायिक बाेयर जातकाे बाख्रा पालन अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल आउने पाहुना घटेर एकाधमा झरेको व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आले बताउँछन् । ‘कोरोना महामारीको समय पूर्वाधार विकास र सुधारमा सदुपयोग गरेका छौँ,’ उनले भने। पूर्वाधारमा सुधार भएकाले नयाँ भेरियन्टको प्रभाव हेरेर होमस्टे प्रवर्द्धनको कार्यक्रम थाल्ने योजना रहेको उनले जानकारी दिए। 

Logo