मसानघाट बन्यो रमणीय पार्क (फाेटाे फिचर)

मसानघाट बन्यो रमणीय पार्क (फाेटाे फिचर)

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको सुद्धोधन गाउँपालिका–५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ । केही समय अघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिई कोही हिँड्दैनन् थिए । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ । 

स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर अहिले हेर्न लायक पर्यटकीय स्थल बनेको छ । सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएसँगै सुद्धोधनमा अहिले पर्यटकीय गन्तव्य थपिन थालेका छन् । अहिले दैनिक रूपमा सयको हाराहारीमा टिकट काटेरै पार्कभित्र जाने गरेको पार्क प्रशासनले जनाएको छ । गत मङ्सिर महिनादेखि सुरु भएको पार्क निर्माण पूरा भई अहिले सयौँ पर्यटक आउन थालिसकेका छन् ।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने भन्दै स्थानीय सरकारको पहलमा ०७५ सालमा जग्गा संरक्षण सुरु भएको हो । सुखली घोला बगरमा रहेको मसानघाट अन्यत्र सारेर जग्गा संरक्षण गर्ने अठोट गरेको सुद्धोधन गाउँपालिकाले जनाएको छ । केही समय विवाद भए पनि गाउँपालिकाले मसानघाटलाई घोला नजिकै व्यवस्थित रूपमा स्थानान्तरण गरेपछि स्थानीय पनि सहमत भएका हुन् । 

जग्गा संरक्षण गरी पहिलो वर्ष २०७६/७७ मा तारबार गरियो । गाउँपालिकाले सुरुवाती चरणमा २० लाख खर्चेर पार्क बनाउने अवधारणा अघि सार्‍यो । गाउँ पर्यटन कार्यालयले पनि ३० लाख बजेट विनियोजन गर्‍यो । गाउँपालिकाले यही वर्ष पुनः ५८ लाख ५६ हजार पार्कमा लगानी गर्‍यो । दोस्रो वर्ष २०७७/७८ पर्यटन कार्यालयले २५ लाख बजेट विनियोजन गरी पार्कको सौन्दर्यीकरणमा थप इट्टा थप्ने काम गर्‍यो । प्रदेश सरकारको समपुरक र गाउँपालिकाले पनि त्यसमा थप ३५ लाख ११ हजार लगानी गरेर शौचालय, फुटपाथ, माटो पटान, फूलबारीलगायत पूर्वाधार निर्माण गर्‍यो । पार्कको मुहार वर्षेनी फेरिँदै गयो । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले ४३ लाख लगानी गरेको छ । अहिले पार्क रुपन्देही कै नमुना बनेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले पर्यटन क्षेत्रको विकास होस् भन्ने उद्देश्यले दुई करोडभन्दा बढी लगानीमा पर्यटकीय स्थल बनाउन लागेको बताए । पार्कमा बुद्धको मूर्ति, विभिन्न जनावरको फाइबरका आकृति, वाटर फाउन्टेन फूलबारी, पाम ट्रि, शौचालय, बालबालिकाले खेल्ने सामग्री राखिएको छ । यसै आर्थिक वर्षमा सबै निर्माण सम्पन्न हुने उनले बताए । 

एक बिघा ६ कट्ठा क्षेत्रफल रहेको पार्क सञ्चालन गर्न समिति नै बनेको छ । समितिले २४सै घण्टा रेखदेख गर्ने गरी संयन्त्र बनाएको छ । लुम्बिनी नजिकै रहेकाले पनि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोग भएको हो । घोलाको पारी ऐतिहासिक मन्दिर पनि छ, त्यसलाई जोड्न घोलामा ढुङा चलाउन सुरुवात गरिएको छ । यसलाई थप विकसित गर्दै लैजाने पालिकाको योजना रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए । 

अहिले दर्वाह टोल विकास समितिले पार्क व्यवस्थापन गरेको छ । १ मंसिरदेखि सञ्चालनमा आएको पार्क प्रवेशका लागि २० रुपैयाँ टिकट तोकिएको छ । अहिले जिल्लाबाट मात्र होइन बाहिरी जिल्लाबाट पनि पर्यटक आउने गरेको समितिका सचिव जीवलाल पौडेलले बताए । रुपन्देहीमा १६ वटा पालिका छन् । 

Logo