गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

केन्द्रबिन्दु
0
Shares

गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ।
 
गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहीबार नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। 

उनले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। एक साताअघि नेपालका लागि चिनियाँ राजदूतले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेको उनले बताए । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण टोलीमा आएका वाणिज्य तथा आपूर्ति मन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ। 
 
चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए। यसबाट कार्यालयले रु तीन लाख १० हजार ८०० टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ। यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन्। हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि रु ३०, विद्यार्थीका लागि रु १५ र विदेशीका लागि रु ३०० शुल्क तोकिएको कार्यालयले जनाएको छ।

Logo