गृहले भन्यो : पर्यटकका लागि मात्रै भिजिट भिसाको प्रयोग गर्नू

गृहले भन्यो : पर्यटकका लागि मात्रै भिजिट भिसाको प्रयोग गर्नू

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरुले भ्रमण भिसाको प्रयोग पर्यटकको रुपमा मात्र गर्न अनुरोध गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।

पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइ भोगिरहेका समाचार, गुनासा तथा सूचनाहरु आइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभएको बताए । 

प्रवक्ता पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् , ‘‘भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकाले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ ।’’

यसरी गैरकानुनी रुपमा विदेशमा गई समस्यामा परेका नागरिकहरुलाई उद्धार गर्न कुनै कानुनी आधार नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यस्तै, विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृतिलगायतका प्रक्रिया पूरा गरेर मात्र जानुहुन मन्त्रालयले अनुरोध गरेको छ ।

Logo