कलाकार टिकटक लाइभमा बसेर सस्तो बन्‍नु ठीक होइन -अञ्जली अधिकारी

कलाकार टिकटक लाइभमा बसेर सस्तो बन्‍नु ठीक होइन -अञ्जली अधिकारी

केन्द्रबिन्दु
0
Shares

कलाकारहरुको जीवन बाहिर हेर्दा निकै राम्रो देखिन्छ । उनीहरु हाँसीखुसी देखिन्छन् । तर भित्रि कथा भने अर्कै हुन्छ । कलाकारहरुको जीवन जति सफल देखिन्छ, उनीहरुको जीवनशैली जति लोभलाग्दो र विलासी देखिन्छ,त्यो भन्दा हजारौं गुणा बढी संघर्ष गरेको कुरा उनीहरुका कतिपय फ्यानहरुले थाहा पाउँदैनन् ।  

नेपाली लोक गीत संगीतमा सबैभन्दा बढी माग गरिने माेडल हुन्, अञ्जली अधिकारी । २०७२ सालमा ५ सय रुपैयाँ बोकेर कलाकार बन्ने सपना पूरा गर्न काठमाडौं होमिएकी उनको कथा पनि संघर्षले भरिपूर्ण छ । प्रकाश सपुतको 'बोल माया' र 'गलबन्दी'बाट एकाएक चर्चाको शिखरमा आएकी मोडल अन्जली अहिले के मा व्यस्त छिन् त ? उनको जीवनको संघर्ष र आगामी योजनाहरुबारे केन्द्रबिन्दुकर्मी पूजा पन्तले उनीसँग गरेको कुराकानी-

वर्ल्डकप भनेपछि फूटबलको फ्यान तपाईं कुन टिमलाई सपोर्ट गर्नुहुन्छ ?
-सबैले रोज्ने क्रिस्टियानो रोनाल्डो हो । मलाई पनि मनपर्छ । उहाँ त आउट भइसक्नु भयो । 

अब चाहिँ कसको सपोर्ट गर्नुहुन्छ ?
-मेस्सीलाई गरिरहेको छु । 

जित्ला त अर्जेन्टिनाले ?
-खेल हो । हार जित त भइहाल्छ । हेरौं फ्रान्सले पनि राम्रो खेलिराछ । अर्जेन्टिनाले पनि राम्रो खेलिराछ । ब्राजिलले पनि अघिल्लो गेम राम्रै खेल्यो । मेहनतसँगै लक पनि चाहिंदो रहेछ । 

प्रोफेसन लाइफमा चाहिँ केमा व्यस्त हुनुहुन्छ ?
-अहिले खासै योजना नै बनाएको छैन । सूटिङ र प्रोग्रामहरुमै व्यस्त छु । 

महोत्सवहरु सुरु गर्नुभयो ?
-यही पुष महिनामा चाहिँ हाम्रै बर्दियाबाट बोलाउनु भएको छ । धादिङ, दाङमा कुरा भइसक्यो । अब सुरु हुन्छ । 

तपाई म्युजिक भिडियो क्वीन कै स्तरमा हुनुहुन्छ । अब सिने स्टार बन्ने योजना के छ ?
-कुरा चाहिँ आको हो फिल्ममा तर, मलाई चाहिँ के लाग्छ भने कुनै जिम्मेवारी लिएपछि त्यो जिम्मेवारी लिन सक्छु कि सक्दिन । पहिला आफूमा त कन्फिडेन्स हुनपर्यो नी । मलाई चाहिँ अहिले आफैमा त्यो कन्फिडेन्स नभएको होकी भन्ने पनि छ । अनि स्टोरी पनि पछिल्लो समयबोल माया रिलिज भइसकेपछि चाहिँ दर्शक स्रोताले अलि सोझो, नेचुरलदेख्न रुचाउनु हुन्छ । फेरि स्क्रिप्ट पनि मलाई डोको बोकेको चाहिने । आइदिन्छ चाहिँ चुइगम पड्काउँदै हिँड्ने खालको । यसले पनि स्टोरी बेस्ड कहानीहरु पर्खिरहेको छु । आफुलाई सूट गर्ने कहानी आयो भने गर्छु पनि । 

यहाँको बाल्यकालतिर लागाैं न । अहिले सम्झिनु पर्यो भने बाल्यकालको के सम्झिनु हुन्छ ? स्कुल जीवनको ! 
-स्कुल जीवनको रमाइलो र नरमाइलो दुबै पक्ष छ । रमाइलो पक्ष चाहिँ म सानै देखि नाच्न रुचाउने मान्छे। शुक्रबार सांस्कतिक कार्यक्रम हुन्थ्यो । डान्स कम्पिटिसनमाभाग लिन्थें । त्यसमाएकचोटी चाहिँ सेकेण्ड भएको छु । नभए सधैं जस्तो फस्र्ट हुन्थेँ । टिचरहरुले एकदमै माया गर्नुहुन्थ्यो । साथीहरुले पनि माया गर्ने । स्कुलभरीको राम्रो नृत्य गर्ने भनेर चाहिँ चिनिन्थे म । बाल्यकालमा कुदेको , हिँडेको, टिचरबाट पिटाई खाको, स्याबासी पाएको कुराहरु नै याद आउँछ । नराम्रो पक्षमा दुख कष्ट आफ्नो ठाउँमा छँदैछ । 

सुनिन्छ, तपाई नाच्न रहर गरेर नाच्न जान खोज्दा घरमा थुनिन्थ्यो रे । त्यो थुन्ने वातावरणबाट नेपालको टप कलाकार बन्दासम्मको यात्रा कस्तो रह्यो ?
-मेरो बुवाकाे चाहिँ छोरीलाई स्टाफ नर्स बनाउने सपना हो । मेरो दिदीलाई पनि स्टाफ नर्स बनाउँछु भनेर सोच्नु हुन्थ्यो । केही कारणले दिदी स्टाफ नर्स हुन नसकेपछि दिदीको बिहे भयो । दिदीको प्रेम बिहेपछि चाहिँ बुवालाई अब यो पनि दिदीजस्तै हुन्छे भन्ने भयो होला सायद । त्यसमा पनि बुवालाई नाचेको मन नपर्ने । गाँउतिर नाच्ने मान्छेलाई नचनियाँ भनिन्थ्यो । बुवालाई पनि नाच्ने भनेपछि नकारात्मक कुरा दिमागमा बस्यो । म एकदमै मधेसी गाँउमा हुर्केको । जहाँ चाहिँ नाच्नु गलत कुरा हो भन्ने खालको परिभाषा थियो । यसकारण पनि मलाई बुवाको सपोर्ट चाहिँ थिएन् । दाइको त झन हुनै कुरै भएन् । सपोर्ट गर्ने भनेको ममी मात्रै हुनुहुन्थ्यो । नाचेर पुरस्कारमा पाएको कपी कलम बुवाले हेर्नु हुन्थेन । बुवालाई कलाप्रति नफरत मात्रै थियो । त्यो बेला बुझ्नु नै भएको थिएन ।

कसरी कन्भिन्स गर्नुभयो त?
-आठ कक्षामा पढ्दा मेला हेर्न गएको थिएँ । त्यो पछि बताउँला । बोल माया भन्दा अगाडि आएको मेरो कुनैपनि म्युजिक भिडियो बुवाले हेर्दै नहेर्ने । उहाँलाई थाहा पनि थिएन । बोलचाल खास हुन्थेन । पछि बोल माया आइसकेपछि चाहिँ मान्छेहरुले बुवालाई तपाईं अन्जली अधिकारीको बुवा होइन ? भनेर सोध्न थाल्नुभएछ । बुवा बिरामी हुनुहुन्थ्यो । मैले नाचेकै पैसाले उपचार गरेपछि, मान्छेहरुको वाहवाह पाएपछि  नृत्य भनेको त यस्तो पो रैछ भनेर बुझ्नु भयो । अहिले त मैले भन्दा धेरै बुवाले सपोर्ट गर्नुहुन्छ । 

कलाकारिता क्षेत्रमा तपाईलाई बद्री पंगेनीले ल्याउनु भयो । यदि उहाँ नभइदिएको भए अञ्जली अधिकारी यो ठाउँसम्म कसरी पुग्नुहुन्थ्यो होला ? केही सोच थियो ?
-कलाकार नै बनिन् भनेदेखि एयर होस्टेज बन्छु भन्ने थियो । तर,जसरी भएपनि मलाई नृत्य जगतमा आउनु थियो । दाई नहुनु भएको भए सायद यो क्षेत्रमा नहुन सक्थेँ । 

तपाईंको बोलमाया हिट भयो । गलबन्दी,पछ्यौरी थुप्रै हिट भए । तपाईंको चर्चा र ख्यातीको उदगम् विन्दु चाहिँ कुन सिर्जनालाई मान्नु हुन्छ ?
-अञ्जली अधिकारी बनाउन ठाउँ दिएको चाहिँ बद्री पंगेनी दाइले हो । कलाकार बन्ने ठाउँ दिएकोमा दाइको गुण कहिले बिसिर्न सक्दिँन । मेरो पहिचान दिने चाँहि पसिना आ रैछ ,निधारैमा तिम्रो’ मा बेली डान्स गर्थे । इन्डस्ट्री भित्र चाहिँ पसिना आयोले हो । दर्शकहरुले चिन्न थालेको चाहिँ ‘मेरो माया बसेको ठाउँमा, बत्ती बाल्न पर्दैन त्यो गाँउमा’ हो । तर, धेरैमाझमा चिनाएको बोल मायाले हो । मेरो कामप्रतिको इमानदारीता, लगनशीलता त्यहाँ देखियो । त्यसपछि दर्शकको माया पाउन थाले । 

यति राम्री हुनुहुन्छ । सुशील हुनुहन्छ । हेर्दाखेरी जसले पनि मनपराउने खालकी हुनुहुन्छ । अब गीतमा ‘तिम्रो थर मेरो थर, एउटै बनाउ घर’ खालको रियल लाइफमा अभिनय गर्ने अफर आएको छ की छैन ?
-आको पनि हो । मलाई भन्दापनि घरमा चाहिँ कुरा आउँछ । तर, म त्यो सोचमा छैन् । फेमेली, बच्चा होस् भन्ने त्यो किसिमको सेटल लाइफ चाहन्छु । फेरि पनि त्यो जीवन जिउनको लागि अझै एकवर्ष छ । बिहे गर्छु भनेर ठोकुवा चाहिँ गर्दिन तर सोच्न चाहिँ सक्छु । मेरा केही जिम्मेवारी छन् । ममीले चिया बेच्नुहुन्थ्यो । अहिले पनि कोहलपुरमा खाजाघर छ । बुवा बिरामी हुनुहन्छ । आफै गरेर खानुहुन्छ । त्यसैले पनि एक वर्षपछि चाहिँ सोच्छु होला । फेरिकलाकारितामा पनि नयाँ पुस्तालाई अवसर दिनुपर्छ । मेरो मात्रै पनि होइन् । 

बच्चादेखि युवाहरुको सपनाको राजकुमारी अञ्जली अधिकारीको चाहिँ सपनाको राजकुमार छ कि छैन ?
-पहिलो कुरा म राजकुमारी हो जस्तो लाग्दैन । मेरो सपनाको राजकुमार भन्ने नै हुनुहुन्न । सबैको रोजाइ एउटै हुन्छ भन्ने छैन । मेरो रोजाई अलि फरक छ । मलाई ब्रिटिश लाहुरेहरु राम्रो लाग्छ ।

लाहुरेहरुले इन्टरभ्यु हेरेपछि अप्रोच गरे होलान् नी ?
-फेसबुकमा रिक्वेष्टहरु आयो । लाहुरे देखिनै बितिक्कै मैले त्यो किसिमले सोच्न त मिल्दैन नी । लाहुरेभन्दा पनि मन मिल्न पर्यो क्या ।जिन्दगी त मान्छेको मन र नियतसँग जाने हो नी । 

अहिले नेपालकै टप मोडल, अञ्जली अधिकारीको विदेशमा पनि पोग्रामहरु भइरहेका होलान् । स्वदेश र विदेशका प्रोग्रामहरुको अवस्था कस्तो छ ?
-हिमाल, पहाड, तराई सबै ठाउँमा गइसके । केही ठाउँमा जान बाँकी छ । अस्ति भर्खरै अष्ट्रेलिया गएर आएँ । प्रोग्रामको प्लानिङहरु भइरहेको छ । 

तपाईंले थुप्रै स्टेज प्रोग्रामहरु गर्नुहुन्छ । मेलामा जानुभएको छ । त्यी प्रोग्रामका केही त्यस्ता अविस्मरणीय क्षण छन्?
-सम्झिने पलहरु छन् । पीडादायी पलहरु छैनन् । तिजको बेलामा एकपल्ट युरोप गएको थिएँ । बोल माया रिलिज भएको थियो । त्यहाँका आमाहरुले अंगालो हालेर रुनु भयो । सफलता बुझ्दै गरेको बेला थियो । माया होकी के हो । छुट्याउन अलि गाह्रो भयो ।

तपाईंको आफ्नै भनाई पनि छ । म सफ्ट हार्टेड छु । त्यही पनि विभिन्न आरोप लाग्छन् । पूर्व सहकर्मीहरुलाई चटक्कै बिर्सेको आरोप लाउँछन् । यसलाई के भन्नुहुन्छ ?
-पूर्व सहकर्मीहरुलाई त मैले बिर्सेकै छैन् । पहिलो कुरो त रे भन्ने कुरै होइन क्या । कि ठोकुवा नै हुनपर्यो । मसँग साथी सबैजना हुनुहुन्छ । काम नभएसी खास कुरा हुँदो रहेनछ । हामी बोल्दै छम है भनेर फेसबुक पोष्ट हाल्नुपर्ने होकी ?

राजनीतिप्रति तपाईंको धारणा के छ ?
-एउटा कलाकार र राष्ट्रको गहना भएको हिसाबले राजनीतिलाई सपोर्ट पनि गर्नुपर्छ । गर्नु एक किसिमले ठिक पनि हो । बेठिक पनि हो । राजनीतिप्रति त्यति ज्ञान छैन । कतिपय कुरा एमालेको पनि राम्रो छ । काँग्रेसको पनि राम्रो छ । माओवादीको पनि राम्रो छ । पछिल्लो समय बालेन शाहको कामहरु पनि राम्रो लाग्छ । जसले देशलाई आफ्नो सोच्छ । त्यसलाई सपोर्ट गर्ने हो । 

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने कुरा गर्नुभयो । यो कतै राजनीतिमा आउने संकेत त होइन नी ?
-राजनीति नै बुझ्दिँन । राजनीतिमा कसरी आउँला ? कलाकारिता छोडेपछि राजनीतिमा जाने भन्ने चाहिँ छैन । फिल्म खेल्ने इच्छा छ । आफूले सोचे जस्तो स्टोरी पाए त्यता चाहिँ ट्राई गर्छु । 

कस्तो स्टोरी चाहनुहुन्छ त ?
-एकदमै टिपिकल । एकदमै गाँउको । आफूलाई सुहाउने खालको चाहिँ हुनपर्यो। कलाकार भएपछि सबै रुपमा परिमार्जन गर्न सक्नुपर्छ । तर, मलाई कम्फर्ट नहुने कुरा चाहिँ म गर्दिन । 

महिला राजनीतिप्रतिको धारणा के छ,एउटा सशक्त महिला भएको हिसाबले पनि ?
-पहिला जस्तो महिलालाई पछि राख्ने जमाना छैन । महिलाहरु कति ठाउँमा अगाडि हुनुहुन्छ । जस्तो हाम्रो राष्ट्रपति । मलाई त एकदम खुसी लाग्छ । राम्रो काम गर्ने महिलाहरुलाई शुभकामना छ । 

अञ्जली अधिकारीलाई कलाकारिता बाहेक कुन-कुन क्षेत्रमा रुची छ ?
-यात्रा गर्न चाहिँ धेरै रुचाउँछु । 

तपाईंलाई आफ्नो प्रतिस्पर्धा कोसँग छ जस्तो लाग्छ ?
-त्यो मैले भन्दापनि बाहिरी मान्छेहरुले दाँज्नु हुन्छ । मैले दाँज्नु पर्यो भने ऐश्वर्या रायसँग दाँज्छु । 

अभिनयसँगै मिठो गाउनु पनि हुन्छ । गीत निकाल्ने सोच छ ?
-छैन । मेरो इच्छा चाहिँ हो गुनगुनाउने । मेरो ममी पनि गाउनु हुन्छ ।

नेपाली कलाकारिता क्षेत्रमा निक्कै लामो समय बिताउनु भयो । नेपालमा जीवीको पार्जन गर्न कतिको सहज छ ?
-पहिला भन्दा अहिले धेरै सजिलो छ । किनभने, अहिले त टिकटक लाइभबाट पनि पैसा आउँछ । स्टार्टिङमा चाहिँ अलिकति गाह्रो हुन्छ । आफ्नो ठाउँमा बसेर लगाउन खान चाहिँ मजाले पुग्छ । यहाँ नाम र दाम दुवै छ ।

पुरानो कलाकार या भनौं कुनैपनि प्रोजेक्ट नगरेका कलाकारहरु टिकटक लाइभमा देखिन्छ । त्यसरी पनि पैसा कमाइरहेका छन् । कतिपय कलाकार विवादमा पनि छन् । यो विषयमा के भन्न चाहानुहुन्छ ?
– आ-आफनो इच्छा हो लाइभमा आउने । तर, मेरो चाहिँ इच्छा होइन् । एकचोटि आएको थिएँ । बेसरी गाली खाएँ । गालीले हटेको चाहिँ होइन् । आफूलाई नै ठिक नलागेर पनि हो । म चाहिँ कलाकारहरुलाई लाइभ नबस्नुस भन्छु । 

अन्त्यमा, अञ्जली अधिकारी के हो त ? यहाँको व्यक्तिगत टिप्पणीमा ! 
-अहिलेसम्मको यात्रामा एउटा मेहनतको फल चाहिँ हो  । दु:ख गर्न त अझै कति बाँकी छ । बुवा आमाको लाज राख्न सक्ने असल छोरी हो, अहिलेसम्म चाहिँ । यो कायम राख्ने कोसिस रहन्छ । 

अब आउने नयाँ पुस्ताका कलाकारलाई चाहिँ कस्तो प्रेरणा दिन चाहनुहुन्छ ?
-पहिला त सही र गलत बाटो छुट्याउन सक्ने क्षमता हुन पर्यो । एउटा परिपक्क बुझाई हुनुपर्छ । अठोट राख्नुस । 

तपाईंले सम्झिनै पर्ने तीन जना व्यक्ति ?
-सम्झिनै पर्दा पहिला बुवाआमा । बद्री पंगेनी दाई । र मलाई म बनाउन ठाउँ दिने प्रकाश सपुत दाईलाई मैले सम्झनै पर्छ । 

Logo