पलले पाए सफाइ तर थुनामुक्त भने नहुने [भिडियोसहित]

पलले पाए सफाइ तर थुनामुक्त भने नहुने [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

नाबालिका बलात्कारको आरोपमा जेल सजाय काटिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो । 

अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका निर्वाह गरेको आरोप थियो । एक नाबालिका कलाकारलाई बलात्कार गरेको आरोपमा तनहुँमा शाहमाथि मुद्दा दायर भएको थियो । पीडित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटलमा पनि बलात्कार गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत तनहुँले शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । 

गत फागुन ११ गते नाबालिकाका पिताले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष आत्मसमर्पण गरेका थिए ।

अदालतले सफाइ दिएपनि उनी जेलमुक्त भने हुन पाउने छैनन् । कारण– जिल्ला अदालत नवलपुरले पनि बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ । उनी अहिले तनहुँ कारागारमा सजाय काटिरहेका छन् । शाह करिब एक वर्षयता जेलमा छन् । 
जबरजस्ती करणीको मुद्दामा भने उनलाई नवलपुर अदालतले पनि सफाइ दिएको छ । कैदसँगै उनलाई १० लाख रुपैयाँ क्षतिपूर्तिबापतको जरिवाना पनि तोकिएको थियो ।

Logo