विवादै विवादमा बित्यो मेयर बालेनको १५ महिना, यस्ता छन् १० अपूरा कार्य [भिडियाेसहित]

विवादै विवादमा बित्यो मेयर बालेनको १५ महिना, यस्ता छन् १० अपूरा कार्य [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

मेयरको शक्ति कति हुन्छ ? यसको जवाफ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय र धरान उपमहानगरपालिकाका मेयर हर्कलाई नियाल्दा हुन्छ। 

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुखका रुपमा पद सम्हाल्दै आएका बालेन आफ्नो कार्यका कारण समय-समयमा ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुखका रुपमा पद सम्हाल्दै आएका बालेन आफ्नो कार्यका कारण समय-समयमा ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्।

१५ महिने कार्यकाल बिताइसकेका मेयर बालेनले संघ र प्रदेश सरकारको अपेक्षित साथ नपाउँदासमेत थालेका कामले सकारात्मक र नकारात्मक दुवै चर्चा पाइरहेका छन्।

बितेका १५ महिनामा बालेन संघ र प्रदेश सरकारदेखि अदालत अनि महानगरकै वडाध्यक्षहरूसँग समेत जुधे। तर उनी रोकिएका छैनन्। बरु अझै खरो भएर प्रस्तुत भइरहेका छन्। 

मेयरमा निर्वाचित भइसकेपश्चात १५ महिना विताइसक्दा पनि उनको कार्य शैली सन्तोषजनक नभएको भन्दै आलोचना चुलिन थालेको छ। उनले गर्न थालेका कामहरु पूर्ण भएका छैनन्, कहिले पूरा हुने हुन् त्यो पनि टुंगो छैन। जताततै शुरु भएका कामहरु लथालिङ्ग र भताभुङ्ग छन्।

काम हुँदै नभएका त होइन,तर शुरु गरिएका कामहरु कतै पनि पूर्ण नहुनुले बालेनलाई अपूरा मेयरको रुपमा चिनाउने स्थिति देखिएको छ। उनले गरेका कामहरु मूल्यांकन गर्ने हो भने प्रगतिजनक नतिजा छैन। आजको रिपोर्टमा हामीले बालेन शाहले थालेका तर विभिन्न कारणवस पूर्णता दिन नसकेका १० योजनाबारे बताउनेछौँ। 

मेयर बालेनले पर्याप्त तयारीबिनै नागरिकको उठिबास लाउन खोजेको भन्दै उनको आलोचना मात्र भएन, सुकुम्बासीहरूले महानगर प्रहरीमाथि आक्रमण नै गरे।

कहाँ-कहाँ चुके बालेन ?

१. फोहोर व्यवस्थापन 

फोहोर व्यवस्थापनको पाटोमा मेयर बालेनले चुनावको पर्चामा प्रतिज्ञा गरे अनुसार अझै सफल भएका छैनन्। फोहोरलाई काठमाडौँमै व्यवस्थापन गर्ने, कुहिने र नकुहिने फोहोरलाई नमिसाउने अभियान चलाई सकेका मेयर बालेन केही समयपछि नै आफ्नो निणर्यबाट पछि हटिसकेका छन्।

दुई दशकदेखि समाधान हुन नसकेको काठमाडौँको फोहोर व्यवस्थापनलाई वर्ष दिनमै गर्न कठिन हुने भन्दै उनले अबको चार वर्षभित्र परिणाम देखिने गरी काम गर्ने बताउँदै आएका छन्। 

२. सुकुम्बासी बस्तीमा डोजर, अपर्याप्त तयारी

काठमाडौँका लागि सुकुम्बासी व्यवस्थापनको पाटो सर्वथाको जस्तै चुनौती बनेको छ। शिर्ष राजनीतिक दलहरूले सुकुम्बासी भोटर भड्किने डरले यसमा गम्भीर भएर काम गरेका छैनन्। मेयर बालेनले पर्याप्त तयारीबिनै नागरिकको उठिबास लाउन खोजेको भन्दै उनको आलोचना मात्र भएन, सुकुम्बासीहरूले महानगर प्रहरीमाथि आक्रमण नै गरे।

२५ कात्तिकमा सुकुम्बासी बस्ती हटाउने भन्दै जारी गरेको सूचना देखाउँदै महानगर प्रहरीहरू १२ मंसिरमा डोजरसहित थापाथलीस्थित सुकुम्बासी बस्तीमा पसेपछि तनाव सिर्जना भएको थियो। यस क्रममा सुकुम्बासी र महानगर प्रहरीबीच झडपसमेत भयो। झडपमा ३६ प्रहरी घाइते भएका थिए। सुकुम्बासी व्यवस्थापनको अभियानमा बालेन पूर्णतः चुके। 

३. फुटपाथ वर्गप्रति निर्मम

बालेनले फुटपाथ खाली गराउने अभियान नै चलाइरहेका छन्। यसै क्रममा फुटपाथमा मकैको ठेलादेखि साइकलमा फलफूल बेचेर गुजारा गर्ने सबैको बिल्लीबाठ बनाएका छन्। विपन्नमाथि क्रूर भएको भन्दै बालेनकोे चर्को आलोचना पनि बेला बेला भइरहेको छ।

शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन जरुरी भए पनि महानगरले फुटपाथ व्यापारीहरूलाई अन्यत्र राखेर व्यवस्थापन गर्नुको सत्ता उल्टै ठेलागाडा खोसेर दुख दिने काम गरिरहेका छन्। 

४. पूर्वाधार एम्बुलेन्स ६ महिनामै थन्क्याइयो

वर्षौंदेखि थन्किएका पूर्वाधार एम्बुलेन्स बालेनले आफू निर्वाचित भएलगत्तै सञ्चालनमा ल्याएका थिए। सडकका खाल्डाखुल्डी पुर्न र भत्केको सडक तत्काल कालोपत्रे र मर्मत गर्ने गरी सञ्चालनमा ल्याइएको पूर्वाधार एम्बुलेन्स ६ महिनामै बन्द भयो। बालेनले थालेर बीचमै छोडेकामध्ये पूर्वाधार एम्बुलेन्सको काम पनि एक हो। 
 
५. यम बुद्धको सालिक विवाद 

आफू निर्वाचित भएको केही महिनामै बालेनले र्‍यापर स्व. यमबुद्ध (अनिल अधिकारी)को सालिक बनाउने घोषणा गरेका थिए। युवापुस्ताका प्रिय र्‍यापरको प्रतिमा बनाउने उनको योजनाको चौतर्फी विरोध भयो।

अनि बालेनले आफ्नै खर्चबाट बनाउने उद्घोष नै गरे। उनको यो निर्णयप्रति मानिसहरुले अपरिपक्व मेयर भन्दै आलोचना नै गरे। आलोचनापछि मेयर बालेन यम बुद्धको सालिक बनाउने अडानबाट पछि हटे।
 
६. अध्ययन बिनै टुकुचा खोज्ने अभियान 

बिनाकुनै औपचारिक निर्णयबिनै मेयर बालेन शाहले जय नेपाल हलदेखि काठमाडौँ प्लाजासम्म टुकुचा खोलाको भूमिगत सुरुङ खोतल्न सुरु गरे। यस क्रममा अन्य संरचनासमेत भत्काए। टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीरशमशेरको पहलमा बनेको कागजी प्रमाणहरू पुरातत्त्व विभागले सार्वजनिक गरेको थियो। पछि उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न नपाउने आदेश नै दियो।

७. सामाजिक सञ्जालमा लफडा

काठमाडौँ महानगरको मेयर बनेपछि सामाजिक सञ्जालमा घृणा र निराशाकै प्रतिनिधित्व झल्किने गरी मेयर बालेन शाहले विभिन्न पोस्टहरू सार्वजनिक गरेर आलोचित बनेका थिए। फेसबुक, ट्विटर जस्ता सञ्जालमा उनको भनाभन धरान उपमहानगरका मेयर हर्क साम्पाङ, एमाले नेता महेश बस्नेत, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसम्म भएको थियो।

२५ कात्तिकमा सुकुम्बासी बस्ती हटाउने भन्दै जारी गरेको सूचना देखाउँदै महानगर प्रहरीहरू १२ मंसिरमा डोजरसहित थापाथलीस्थित सुकुम्बासी बस्तीमा पसेपछि तनाव सिर्जना भएको थियो। यस क्रममा सुकुम्बासी र महानगर प्रहरीबीच झडपसमेत भयो।

८.भूमिगत पार्किङसम्बन्धी नियममा कडाइ

भूमिगत पार्किङको स्वीकृति लिएर महानगरपालिकाबाट नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका भवन सञ्चालकलाई कारबाही गर्दा मेयर शाहको आलोचना र प्रशंसा दुवै भयो।

सुरुमा महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गर्दै त्यस्ता संरचनाहरूलाई पार्किङ बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न भनेको थियो। तर अटेर गरेको भन्दै मेयर शाहले आफ्नै अगुवाइमा बानेश्वर क्षेत्रबाट अन्य प्रयोजनका लागि प्रयोग भएका भूमिगत पार्किङका संरचनाहरू भत्काउन सुरु गरे।

त्यस क्रममा बानेश्वर क्षेत्रकै केही व्यवसायी एवं घरधनीहरूसँग उनको चर्काचर्की र बहस समेत भयो। त्यसले उनी विवादमा मात्र परेनन् कैयौँले शाहले “अर्काको व्यक्तिगत सम्पत्तिमाथि जबरजस्ती गरेको” आरोप समेत लगाए। यद्यपि कैयौँले “कानुनलाई अटेर गर्नेलाई“ मेयरले तह लगाएको भन्दै त्यसको प्रशंसा पनि गरे।
 
९.बैठको प्रत्यक्ष प्रसारण

बालेन शाहले मेयर पद सम्हालेकै दिन आफ्नो चुनावी अभियानमा घोषणा गरे अनुसार महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए। उक्त विषयले उनी सुरुमै बहसको केन्द्रमा रहे तर कतिपयले शाहको उक्त कदमलाई “सस्तो लोकप्रियता” भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे। यद्यपि महानगरका धेरैजस्तो बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्यले हालसम्म पनि निरन्तरता पाएको देखिन्छ।

मेयर बालेन शाहले काठमाडौं महानगरपालिका भित्र रहेका अव्यवस्थित, अनियन्त्रित, विशुद्ध निजी फाइदाका उद्देश्यले सार्वजनिक चोक, सडकसँगै जोडेर राखिएका बोर्डहरु तत्काल हटाउने लक्ष्यसहित सुरु गरेको कार्य अहिले अलपत्र बनेको छ

१०.डिजिटल डिस्प्ले र होर्डिङ बोर्ड मुक्त काठमाडौँ 

मेयर बालेन शाहले काठमाडौं महानगरपालिका भित्र रहेका अव्यवस्थित, अनियन्त्रित, विशुद्ध निजी फाइदाका उद्देश्यले सार्वजनिक चोक, सडकसँगै जोडेर राखिएका बोर्डहरु तत्काल हटाउने लक्ष्यसहित सुरु गरेको कार्य अहिले अलपत्र बनेको छ।

सुरुमा बालेनले त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल बोर्डलाई हटाएर यो कार्यको थालनी गरेका थिए। तर केही दिन मात्रै बन्द भएर त्यो डिजिटल बोर्ड पुनः सञ्चालनमा ल्याइएको छ। वल्र्ड ट्रेड सेन्टर जस्तै अन्य धेरै ठाँउहरुमा पनि बन्द गरिएका डिजिटल बोर्ड पुनः सञ्चालनमा आएका छन्।
 
यसबाहेक बालेनले निर्णय गरेर वा आफ्नै पहलमा थालेका कतिपय कामहरू बीचमै रोकिएका छन्। कतिपय योजनाको प्रभावकारी कार्यान्वयन वा नतिजा देखिएका छैनन्।

तर अटेर गरेको भन्दै मेयर शाहले आफ्नै अगुवाइमा बानेश्वर क्षेत्रबाट अन्य प्रयोजनका लागि प्रयोग भएका भूमिगत पार्किङका संरचनाहरू भत्काउन सुरु गरे।

जस्तो कि, विभिन्न होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्ने योजना लागू गराए पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन। त्यति मात्रै होइन, काठमाडौँको सभ्यता जोगाउने नाममा भत्काइएका अनेकन सडक छेउका संरचनाहरु त्यत्तिकै छोडिएको छ।

Logo