इच्छाराज तामाङ दोषी ठहर, प्रधानमन्त्रीको विदेश भ्रमण खर्च दुई अर्ब बढी [भिडियाेसहित]

इच्छाराज तामाङ दोषी ठहर, प्रधानमन्त्रीको विदेश भ्रमण खर्च दुई अर्ब बढी [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो। विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। उनीहरु सबै दोषी ठहर भएका हुन्।

सर्वसाधारणहरुले करिब १८ महिना अघिदेखि पाएनन् लाइसेन्स

सर्वसाधारणहरुले करिब १८ महिना अघिदेखि लाइसेन्स पाएका छैनन्। तर, यातायात व्यवस्था विभागले १ लाख २ हजारको नयाँ लाइसेन्स नक्कली भएको आशका गरेको छ भने ३२ हजारको लाइसेन्स रद्ध गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा आज संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सम्पूर्ण प्रदेशका यातायात मन्त्री, सचिव तथा प्रदेशस्तरीय कार्यालय प्रमुखसहितको संयुक्त बैठकमा नक्कली लाइसेन्सको कुरा उठेको हो। बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले विभागले गरेको अध्ययनले १ लाख २ हजार लाइसेन्स नक्कली भएको आशंका रहेको बताए।

रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरेहकाे छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन्। युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दैरुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसकेको बताएका हुन्।

युगाण्डामा रुसी उप विदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको पनि उनले बताए। तर, जागिर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्ने पनि उनको भनाई थियो।

आफूखुशी कर्मचारी दरबन्दी सिर्जना गर्न कडाइ

संघीय सरकारले स्थानीय तहहरुलाई आफूखुशी कर्मचारी दरबन्दी सिर्जना गर्न कडाइ गरेको छ । स्थानीय तहहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) बनाई अनावश्यक जनशक्ति भर्ना गर्न खोजेको भन्दै संघीय सरकारले अंकुश लगाउन खोजेको हो । गत २ पुसमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले स्थानीय तहहरु आफैंले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी ठूलो संख्यामा दरबन्दी स्वीकृतिको लागि प्रदेश सरकार समक्ष पठाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद

विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय तोकेको छ । एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले आइतबार कसुर निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेका हो।

वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क वृद्धि गर्न १९ बुँदे राखे माग

वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क वृद्धि १९ बुँदे मागहरु अघि सारेको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयललाई ज्ञापन पत्र बुझाउँदै संघले विभिन्न मागहरु पूरा नभए श्रमिकलाई विदेश पठाउन बन्द गर्ने चेतावनी दिएका छन्। व्यवसायीहरुले वैदेशिक रोजगारीमा कामदार पठाएवापत मागपत्रमा उल्लेख भएको न्युनतम १ महिना तलब बराबरको सेवा शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेका छन्।

प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च

प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ। स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ।

विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९-८० मा आन्तरिक र बाह्य गरी भ्रमण खर्च बापत दुई अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा करीब १७ प्रतिशत बढी हो।

काठमाडौँको शोभा भगवतीमा बन्द कोठाभित्र ३ महिनादेखि शव रहेको खुलसा

काठमाडौँको शोभा भगवतीमा बन्द कोठाभित्र ३ महिनादेखि शव रहेको खुलेको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र कम्तिमा ३ महिना अघिदेखि शव रहेको पाइएको बताए।

कोठाबाट गन्ध आउन थालेपछी मात्र घटना थाहा भएको पाइएको छ। प्राविधिक अनुसन्धानबाट मृतक तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँ रहेको पाइएको हो’, प्रहरीले उक्त कोठामा बस्दै आएका भारतीय नागरिक इक्रामउल अन्सारीलाई पक्राउ गरेको छ।

छ महिनामा नेपालकाे व्यापारघाटा सात खर्ब

चालु आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो।

विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रू ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ।

साताको पहिलो दिन आइतबार सेयर बजार २१ सय ३० अंकमा झर्याे

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१ सय ३० अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से २५।६३ अंक घटेको हो। कुल ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन बैंकहरुको कमजोर वित्तीय विवरणको प्रभाव बजारमा देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको नाफा खस्किएको छ भने कतिपयको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। त्यस्तै निष्क्रिय कर्जा पनि धेरैको बढेको छ। वाणिज्य बैंकहरुको पूँजीकरण उच्च रहेकाले यसको प्रभाव बजारमा बढी पर्दछ।

अफगानिस्तानमा रुसी जहाज दुर्घटना

अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ। रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो।

त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ। रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो।

प्रधानमन्त्री कपमा कोशी प्रदेशसँग गण्डकी प्रदेशकाे जित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई एक सय ४२ रनको फराकिलो अन्तरले हराएको छ। जारी प्रतियोगितामा चार खेल खेलेको गण्डकी प्रदेशको यो पहिलो जित हो।यसअघि तीन खेलमा गण्डकी प्रदेश पराजित भएको थियो ।

कोशी प्रदेशको भने यो लगातार छैटौँ हार हो ।काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने १५.२ ओभरमै अलआउट हुनुअघि २५ रन मात्र बनाउन सक्यो ।

Logo