रवि लामिछानेले सहकारी प्रकरणमा यसरी खुलाए आफ्नो संलग्नता, रुसमा थप एक नेपालीको मृत्यु [भिडियाेसहित]

रवि लामिछानेले सहकारी प्रकरणमा यसरी खुलाए आफ्नो संलग्नता, रुसमा थप एक नेपालीको मृत्यु [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

रवि लामिछाने आफ्नो खातामा जम्मा भएको भनिएको एक करोड ८० लाख रुपैयाँ बैंकको भौचर अनुसारको रकम जम्मा नभएको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा सहकारीको रकम जम्मा भएको भन्ने कान्तिपुर दैनिकको समाचारको खण्डन गरेका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफ्नो खातामा जम्मा भएको भनिएको एक करोड ८० लाख रुपैयाँ बैंकको भौचर अनुसारको रकम जम्मा नभएको दाबी गरेका हुन् ।

कान्तिपुर दैनिकले सोमबार सहकारी ठगीको रकमबाट खुलेको ग्यालेक्सी टेलिभिजनको १५ प्रतिशत सेयर बिक्रि गरेर १ करोड ८० लाख रुपैयाँ बुझेको समाचार प्रकाशित गरेको थियो । पत्रकार सम्मेलनमा लामिछानेले कान्तिपुरले दाबी गरेको बैंकको भोचरअनुसारको रकम बैंकमा जम्मा नभएको ग्लोबल आइएमई बैंकको पत्र पनि सार्वजनिक गरे ।

पत्रअनुसार कान्तिपुरले दाबी गरेको भौचरअनुसार रकम डिपोजिट गरिएको भए पनि सो खातामा रकम नभएका कारण डिपोजिट स्वत रद्ध भएको उल्लेख छ । आरोप पुष्टी गर्न उनले चुनौतीसमेत दिएका छन् ।

नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा डाक्टर बनेको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्य नेपाल चिकित्सक संघकाे सदस्य नरहेको स्पष्ट

नेपाल चिकित्सक संघले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा डाक्टर बनेको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्य आफ्नो सदस्य नरहेको स्पष्ट पारेको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको थियो।

नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राऊ परेको र निज नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएकोप्रति यस संघको ध्यानाकर्षण भएको छ,’ संघका महासचिव डा. सञ्जिव तिवारीले विज्ञप्ति निकालेर भनेका छन् ।

रुसी सेनामा थप एक जना नेपालीको मृत्यु

रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ ।रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन।

काठमाडौँ महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले गरे प्रदर्शन

काठमाडौँ महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन्। महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौँ प्लाजा अगाडि प्रदर्शन गरेका हुन्। पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन्। महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ।

मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास

जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् ।सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा विश्वविद्यालयको भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।यसअघि जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएकोथियो। सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका थिए।

राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रूम’बाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना तेस्रो चरणको अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ। फिल्डमा तपाईंहरू काम गर्नुस्। पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस्।”

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरे तालमेल

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गरेका छन् । सोमबारको छलफलपछि दुई दल तालमेल गर्न सहमत भएका हुन् ।राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्नेछन् ।

राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइयाे

भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् ।यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलनको लागि तयारी गरेका छन् ।

सोमबार सेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झर्याे

सोमबार सेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ३१.४९ अंक घटेसँगै २०९८ अंकमा कायम भएको हो । कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३६ करोडमा खुम्चियो ।ब्यापारबाहेकका सबै समूह घटेका छन्।

आवश्यक योग्यता नपुगेको भन्दै लक्ष्मी पुनको नियुक्तिविरुद्ध अन्तरिम आदेश

पाटन उच्च अदालतले पशुपति क्षेत्र विकाश कोषको कार्यकारी निर्देशक हुन आवश्यक योग्यता नपुगेको भन्दै लक्ष्मी पुनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको छ । पाटन अदालतले कार्यकारी निर्देशक हुन आवश्यक योग्यता पुनसँग प्रथम दृष्टिमै नरहेको पाइएको आदेशमा उल्लेख गरेको छ।

“रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निज लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी रुपमा नियुक्ति गर्ने गरी कोष परिषद्ले २०८०-९-४ मा गरेको निर्णय र सो निर्णयबमोजिम मिति २०८०-९-५ मा दिएको नियुक्तिपत्र कार्यान्वयन नगर्नु नगराउनु आदेशमा भनिएको छ।

अमेरिकामा हिमआँधीका कारण ८९ जनाको मृत्यु

अमेरिकामा हिमआँधीका कारण ८९ जनाको मृत्यु भएको छ। हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा देशभरमा विगत एक हप्तामा ठुलो जनधनको क्षति भएको छ। अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ।

ओरेगनमा मर्नेको सङ्ख्या १६ पुगेको छ। ती दुवै राज्यमा आपतकाल लगाइएको छ ।देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू माझ बिजुलीको आपूर्ति ठप्प छ । हिउँका कारण खाने पानीका पाइप फुट्दा कयौँ स्थानमा पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको खबरहरू आइरहेका छन्।

प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशकाे पहिलो हार

युवा ब्याटर नरेन भट्टको शतकको बाबजुद सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ मा पहिलो हार ब्यहोरेको छ । सुदूर मधेश प्रदेशसँग ८० रनले पराजित हुन पुगेको हो।

जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अल आउट भयो।सुदूरका नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्।

नरेन स्पिनर प्रदीप पासवानको ४५ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा स्टेटमा पवन सरार्फबाट क्याच हुन पुगेका थिए ।

Logo