रवि लामिछानेविरुद्ध युवराज सफलले फेरि हाले उजुरी, भिजिट भिसामा विदेश जान लागेका ४८ जना फिर्ता [भिडियाे]

रवि लामिछानेविरुद्ध युवराज सफलले फेरि हाले उजुरी, भिजिट भिसामा विदेश जान लागेका ४८ जना फिर्ता [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ। सिन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन्। उनले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन्।

भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी

सरकारले भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । यसअघिको कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै गृहमन्त्रालयले नयाँ कार्यविधि जारी गरेको हो ।राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने व्यवस्था गरिएको नयाँ कार्यविधि बुधबारदेखि लागू हुनेछ । नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने विश्वास गरिएको छ ।

सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।


आर्थिक वर्षको बजेट निर्माणलाई जनमुखी र कार्यान्वयनयोग्य बनाउन भन्दै प्रधानमन्त्री प्रचण्डकाे १६ बुँदे मार्गदर्शन

प्रधानमन्त्री पुष्पकमलम दहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई जनमुखी र कार्यान्वयनयोग्य बनाउन भन्दै १६ बुँदे मार्गदर्शन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले आगामी वर्ष र आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिन भनेका हुन । बजेटको सिलिङलाई अन्तिम रूप दिनुअघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले २० माघसम्म सबै मन्त्रालयसँग छलफल गर्नुपर्ने उनको निर्देशनमा उल्लेख छ ।

एनसेलको शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले दियाे निरन्तरता

एनसेलको पछिल्लो शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ ।न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।उच्च अदालत पाटनले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ ।

भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई अध्यागमनले २४ घण्टामा फर्कायाे

भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा फर्काएको छ।आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका उनिहरुलाई विमानस्थलबाट फर्काइएको हो । उनीहरु अधिकांश खाडी राष्ट्र जान लागेका थिए।

गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइविरुद्ध फेरि प्रहरीमा जाहेरी

गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ भन्दै ठमेल क्षेत्रमा हत्कडीसहित घुमाइएका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङविरुद्ध फेरि प्रहरी कहाँ जाहेरी परेको छ । शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले अर्को समूहलाई कुटपिट गरेको थियो । यो घटनालाई लिएर प्रहरी वृत्त, दरबारमार्गमा सानुभाइसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको छ । अहिलेको फेरि सानुभाइ फरार छन् भने उनको समूहका एक जना विश्व लामा पक्राउ परिसकेका छन् ।

रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद गरेको छ ।ब्यूरोको टोलीले ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको हो । उनको कोठाबाट बरामद भएको मोबाइल, ल्यापटप, कम्प्युटरको सीपीयू लगायतको प्राविधिक जाँच गर्दा उनले क्रिप्टो करेन्सीको कारोबार गरेको समेत देखिएको सीआइबीको भनाइ छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरियाे
सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए। मंगलबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि जनमतले फिर्ता लिएको छ।

सबै स्थानीय तहलाई रोजगारको विवरण एक साताभित्र उपलब्ध गराउन परिपत्र

सरकारले सबै स्थानीय तहलाई आन्तरिक रोजगारको विवरण एक साताभित्र उपलब्ध गराउन परिपत्र गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहबाट गत आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी सञ्चालन भएको आयोजना तथा कार्यक्रमको विवरण सात दिनभित्र उपलब्ध गराउन भनेको हो।

सूर्यदर्शन सहकारीका पीडितले काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाए ज्ञापन पत्र

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।कांग्रेस कास्की जिल्ला सम्मेलनमा उद्घाटन गर्न पुगेका सभापति देउवालाई मंगलबार सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ लगायतले ज्ञापन पत्र बुझाएका हुन्। पोखराको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा दुई जना पुर्पक्षको लागि थुनामा छन् भने सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। उनीहरू अहिले फरार छन्।

मंगलबार सेयर बजार झिनो अंकमा झर्याे
मंगलबार सेयर बजार झिनो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २११२ अंकसम्म पुगेको थियो। त्यसपछि बजार बन्द हुँदासम्म सामान्य उतारचढाव रह्यो ।मंगलबारसहित लगातार पाँचौ दिन बजार झरेको हो।

अष्ट्रेलियाले गर्याे गोल्डन भिसामा आवेदन लिन बन्द

अष्ट्रेलियाले गोल्डन भिसामा आवेदन लिन बन्द गरेको छ। अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई त्यहाँको अध्यागमन विभागले गोल्डेन भिसा दिँदै आएको थियो।अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने योजनाको हिस्सा अन्तर्गत यो कदम चालिएको हो। अहिलेका लागि यो भिसामा सबै आवेदन रोकिएको छ। सरकारले अध्यागमन प्रणालीको कयौँ पक्षमा परिवर्तन गर्न खोजिरहेको छ। गृह मामिला मन्त्री क्लेर ओ’निलले बताएअनुसार गोल्डन भिसामा लगाइएको रोक पनि यसैको एउटा पाटो भएको बताएका छन्।

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई ४ विकेटले हरायाे

तीव्र गतिका बलर सोमपाल कामी र कप्तान विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ ।लगातार तेस्रो हारले साविक विजेता एपीएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना भने कठिन बनेको छ ।

जितको लागि १२२ रनको विजयी लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा विनोद भण्डारी ४० बलमा ४ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ ३२.४ ओभरमा १२१ रनमा अल आउट भएको थियो ।साथै आजै भएको खेलमा कर्णाली र गण्डकी प्रदेश पनि विजयी भएका छन्।

Logo