काठमाडौँको सिको गर्दै चन्द्रागिरिले पनि लगायो फुटपाथ व्यवसायमा रोक, कहाँ हराए असईसहित २४ प्रहरी ? [भिडियाे]

काठमाडौँको सिको गर्दै चन्द्रागिरिले पनि लगायो फुटपाथ व्यवसायमा रोक, कहाँ हराए असईसहित २४ प्रहरी ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

साना सवारीमध्ये टेम्पो, माइक्रो बस र २० भन्दा कम सिट भएका मिनीबसहरुलाई चक्रपथभित्र बाटो इजाजत नदिन सिफारिस
यातायात सुधार सुझाव कार्यदलले साना सवारीमध्ये टेम्पो, माइक्रो बस र २० भन्दा कम सिट भएका मिनीबसहरुलाई मुख्य शहरी क्षेत्र (चक्रपथ) भित्र बाटो इजाजत नदिन सिफारिस गरेको छ ।

पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको प्रतिवेदनले बाटोको आकार तथा बाटोमा पर्ने शहरी क्षेत्रको प्रकृतिअनुसार चल्न उपयुक्त प्रकारको सवारीलाईमात्र बाटो इजाजत दिन सिफारिस गरेको हो। कार्यदलले साँघुरा सडकहरुमा ठूला सवारीलाई र ठूला सडकहरुमा साना सवारीलाई बाटो इजाजत नदिन पनि कार्यदलले सुझाव दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गरे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् । माघ २२ गते ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

चलचित्र विधेयक ल्याउन सैद्धान्तिक स्वीकृति

सरकारले चलचित्र (निर्माण, प्रदर्शन र वितरण) सम्बन्धी विधेयक तर्जुमालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले संचार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको फिल्म विधेयकको प्रक्रियालाई अघि बढाउन स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

६ महिनाको अवधिमा २११ वटा नयाँ उद्योग दर्ता

चालु आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो ६ महिनाको अवधिमा २११ वटा नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा कुल १ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ ।उद्योग विभागका अनुसार पुस मसान्तसम्म २८ वटा ठूला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग दर्ता भएका छन्। सरकारले चालु आवमा सरकारले कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने अनुमान गरेको थियो ।चालु आवको पहिलो ६ महिनामा उद्योग दर्ताको संख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिवद्धतामा भने कमी आएको छ ।

मोरङको विराटनगरमा राष्ट्रिय सभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन माग

निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रिय सभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ।

आयोगले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेखी विराटनगरमा दलहरुले गरेको गतिविधि निर्वाचन आचारसंहिता विपरीत हो कि होइन २४ घण्टाभित्र लेखी पठाउन निर्देशन दिएको हो ।

आयोगका अनुसार ११ मंसिरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि ८ माघको राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले चुनाव प्रचार गर्न पाउने छैनन् ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय प्रा. ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले भीएफडी खरिद गर्दा अनियमितता गरेको आरोप छ।

नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ
नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।दुवै जनामाथि यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो ।

गैरआवासीय नेपाली संघको निर्वाचन विवादको छानबिन गर्न एक समिति गठन

सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ। महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समितिलाई समयावधि दिएको छ ।

हुम्लामा बुधबार यस वर्षकै बढी चिसो महसुस

हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा हुम्लाको आजको तापक्रम माइनस १० डिग्री सेल्सियस रहेको छ ।

मधेस कृषि विश्वविद्यालय शिलान्यासको क्रममा भएको घटनाको सत्य छानबिन गरी दोषीमाथि कारबाही गर्न नेकपा एमाले मधेस प्रदेशकाे माग

सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा भएको घटनाको सत्य, तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न नेकपा एमाले मधेस प्रदेशले माग गरेको छ ।एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन् । उनले सो घटनामा घाइतेहरूको उपचारका लागि पनि सम्बन्धित पक्षसँग माग गरेका छन्।

असईसहित २४ प्रहरी कार्यरत कार्यालयमा जानकारी नदिई सम्पर्कविहीन

नेपाल प्रहरीका तीन सहायक निरीक्षक (असई)सहित २४ प्रहरी कार्यरत कार्यालयमा जानकारी नदिई सम्पर्कविहीन भएका छन्। बिना जानकारी लामो समय गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि कारबाही प्रक्रिया थालेको छ ।देशका विभिन्न कार्यालयमा कार्यरत तीन असई, २ सहायक हवल्दार र १९ प्रहरी जवान बिदा स्वीकृत नगराइ लामो समयदेखि अनुपस्थित रहेका हुन् । प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरूमा भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा फुटपाथमा व्यवसाय गर्न रोक

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पनि फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ । नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको छ । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ-ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनेको हो ।

अन्तर्राष्ट्रिय उडान लागि वाइडबडी र न्यारोबडी जहाज किन्न नेपाल वायुसेवा निगमले कम ब्याजदरको ऋण लिने

अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी जहाज किन्न नेपाल वायुसेवा निगमले कम ब्याजदरको ऋण लिने भएको छ। निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिन लागेको हो । निगमका अनुसार यसअघि जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदरभन्दा कम ब्याजदरमा ऋण लिई ब्याज खर्चको भार कम गर्ने उद्देश्यले अहिले ऋण लिन लागिएको हो।

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन

सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । नेपालको पूँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरीएकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।

रुसको सैन्य जहाज दुर्घटना हुँदा ६५ जना युक्रेनी युद्धबन्दीको मृत्यु

रुसको सैन्य जहाज दुर्घटना हुँदा ६५ जना युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ। आईएल– ७६ जहाजले युक्रेनी युद्धबन्दीलाई बोकेर यात्रा गरिरहँदा दुर्घटना भएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनी सीमा क्षेत्रको बेलगोरोध क्षेत्रमा दुर्घटना भएको हो । रुसी रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार ६५ युक्रेनी युद्धबन्दीसहित ६ चालक दलका सदस्य र तीन अन्य सहयोगीको पनि मृत्यु भएको छ ।दुर्घटना रुसी समयअनुसार बुधबार बिहान ११ बजे भएको हो ।

प्रधानमन्त्री कपमा आर्मी क्लबले लुम्बिनीलाई हरायाे

अलरान्डर कुशल मल्लको घातक बलिङ र ओपनर इमरान शेखको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनीलाई ६५ रनले हराएको छ। जितको लागि १७१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २६ ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो।

लुम्बिनीका पूर्व कप्तान कृष्ण कार्की ६२ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा नट आउट रहे। मोहम्मद हुसेन १५ र मिर्नङ गुरुङ १८ रन बनाए ।आर्मीका कुशल मल्लले ६ ओभरमा २ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले ५ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर २ विकेट लिए। अभिनाश कर्ण र साहब आलमले १–१ विकेट लिए।

Logo