राष्ट्रिय सभामा तेस्रो स्थानमा खुम्चियो एमाले, बालेन-हर्कले गरे चुनावै बहिष्कार [भिडियाे]

राष्ट्रिय सभामा तेस्रो स्थानमा खुम्चियो एमाले, बालेन-हर्कले गरे चुनावै बहिष्कार [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

बिहीबार सम्पन्न राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक

बिहीबार सम्पन्न राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ। कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।

कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी हुन्। एमाले र राप्रपाको समर्थन पाएकी कोइराला ५ हजार ८६ मतभार पाउँदै निर्वाचित हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार मात्रै पाइन्। कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले भोट हालेनन्

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले भोट हालेनन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले मतदान गरेनन्

उपमेयर सुनिता डंगोलले हेटौंडा पुगेर भोट हाल्दा मेयर शाह काठमाडौंमा रहे। बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह कार्यव्यस्तताको कारणले हेटौंडा नगएको बताए । उनले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हालेका थिएनन्।

नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति

विशेष अदालतले टेलिकम र सूचना प्रविधि क्षेत्रमा नामुद बिचौलियाको छवि बनाएका नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ। बुधबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको हो।

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे भ्रष्टाचार प्रकरणमा मुछिएका उनीहरुलाई नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको लगायत अभियोगका आधारमा बुधबार अख्तियार टोलीले निवासबाटै नियन्त्रणमा लिएको थियो ।

मुड्केचुला गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७६-०७७ मा मड्केचुला गाउँपालिका– ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत र सब–इन्जिनियर दिप नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत, अधिकृतको कार्यका लागि तोकिएका कर्मचारीको आचरण सुधारका लागि आचारसंहिता लागू गर्ने तयारी

सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्यका लागि तोकिएका कर्मचारीको आचरण सुधारका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवम् सेवामूलक बनाइ तीन तहका सरकारबीचको सहकार्य, समन्वयलाई थप प्रभावकारी बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता लागू गर्ने तयारी गरेको हो ।

नेपाली कांग्रेसले माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने
नेपाली कांग्रेसले २०८० माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानलाई ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ । जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी लिने कांग्रेसले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेपछि राहुल महरा कारागारमै रहने

जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेपछि राहुल महरा कारागारमै रहने भएका छन्। भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लाथि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि कारागारमा थिए।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई पक्राउ गरेको थियो। महरालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उच्च गएका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेको हो ।

सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण

सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७७-०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो ।

सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दियाे

सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिएको छ। मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०-१० लाख रुपैयाँ प्रदान गरिएको हो।

सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ। १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो।

सरकारले एक महिनामै २९ अर्ब रुपैयाँ बराबर स्रोत सहमति प्रदान

सरकारले एक महिनामै २९ अर्ब रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ । त्यसमध्ये सबैभन्दा बढी बजेट मल खरिदका लागि स्रोत सहमति प्रदान भएको हो । अर्थ मन्त्रालयका अनुसार पुस २०८० मा २९ अर्ब २६ करोड ९८ लाख ९३ हजारबराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको छ ।त्यसमध्ये रासायनिक मल खरिद गर्न मात्र १५ अर्ब १८ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको हो ।

साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेरै बन्द

साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेरै बन्द भएको छ । गत साताको बुधबारदेखि लगातार घटेको सेयर बजार सातौं दिन पनि रातो रह्यो। बिहीबार ३.९४ अंक घटेर नेप्से परिसूचक २०८४ २ हजार ८४ अंकमा कायम भएको छ।

कारोबार रकम भने अघिल्लो दिनकै बराबर ३ अर्ब ७६ करोड रुपैयाँको भयो। बिहीबार ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत सूचकहरुमा मिश्रित प्रभाव देखिएको छ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ भारत आउँदै

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ भारत आउँदै छन्। म्याक्रोँ दुई दिने राजकीय भ्रमणका क्रममा बिहीबार भारत आउने भएका हुन् । जयपुरमा अवतरण गरेपछि म्याक्रोँले जयपुर आमेर किलाबाट आफ्नो भ्रमण सुरु गर्नेछन्।

विश्व सम्पदा सूचीमा परेको जन्तर–मन्तरमा प्रधानमन्त्री नरेन्द्र मोदी र म्याक्रोँको भेट हुनेछ ।शुक्रबार दिल्लीमा आयोजना हुने गणतन्त्र दिवसको समारोहमा म्याक्रोँ मुख्य अतिथि हुन्। गणतन्त्र दिवसमा मुख्य अतिथिका रूपमा भारत आउने म्याक्रोँ छैटौँ फ्रान्सेली नेता हुनेछन्।

प्रधानमन्त्री कपमा गण्डकी प्रदेशलाई हराउँदै मधेश प्रदेशकाे फाइनलमा पुग्ने संभावना कायम

गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्ने संभावना कायम राखेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ३३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रनमा अल आउट भयो।

गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन्। मधेशका रञ्जित कुमारले ४ तथा हरिशंकर साहले ३ विकेट लिए। यसअघि पहिलो ब्याटिङ गरेको मधेशले विकेटकिपर अनिलकुमार साहको शतकको सहयोगमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो।

Logo