दरबार हत्याकाण्डबारे मुख खोले पूर्वराजा ज्ञानेन्द्र शाहले, काठमाडौँको पार्किङ अब धरहरामा [भिडियाेसहित]

दरबार हत्याकाण्डबारे मुख खोले पूर्वराजा ज्ञानेन्द्र शाहले, काठमाडौँको पार्किङ अब धरहरामा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

दरबार हत्याकाण्डबारे नेपालीको मनमा भ्रम फैलाइयोः पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको बारेमा नेपालीको मनमा आफ्नो परिवारबारे भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको दाबी गरेका छन्। वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको बताएका हुन्। राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आफूले आङ्कलन गरेको उनले जिकिर गरे।

करिब ३ हजारलाई शहीद घोषणा गर्दैछौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकि रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका हुन् ।

गगन थापाले गरे झापाबाट ‘संवाद यात्रा’ सुरु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्। महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन्। पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन्। संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी छ। संवाद यात्रा कञ्चनपुर पुगेर २६ माघमा सकिनेछ।

चिनियाँ उपमन्त्रीसँगको भेटमा ओलीले भने– नेपालको एक चीन नीति सिद्धान्त मात्रै होइन व्यवहार पनि हो’

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हेयान राजनीतिक भेटघाटमा व्यस्त छिन्। राष्ट्पति र प्रधानमन्त्रीलाई भेटिसकेकी उनले शनिबार च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। सो क्रममा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि भएको बताएका छन्। दुई पक्षको कुराकानीमा नेपाल चीन सम्बन्धका विभिन्न आयामहरूमाथि छलफल भएको थियो।

आइतबारदेखि धरहराको पार्किङ खुल्ने

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ। काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार काठमाडौं टावरमा पनि निःशुल्क पार्किङ सेवा छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निःशुल्क पार्किङ उपलब्ध हुने छ ।

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको बताए। कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन्। वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।

स्वर्णिम वाग्लेलाई रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा गएका छन् । सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन् भने उनी १५ गते स्वदेश फर्कने छन् । भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछाने सहभागी हुनेछन् । जसअनुसार रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सो अवधिका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

रेखा थापालाई लिङ्देनको व्यंग्यः नयाँ पुस्ता नेपाली धर्तीमा सन्तान जन्माउन चाहँदैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको बताएका छन्। नयाँ पुस्तामा यस्तो सन्देश गइरहेको र उनीहरू बच्चा जन्माउनका लागि अमेरिकालगायत देश गइरहेको बताएका छन्। अभिनेत्री रेखा थापाको नामै नलिई उनले भने, ‘जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?

कोलम्बियामा डडेलोका कारण १७ हजार हेक्टरभन्दा बढी जङ्गली क्षेत्रमा क्षति

कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण नोभेम्बरयता १७ हजार हेक्टरभन्दा बढी जमिन जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्। लामो समयदेखिको खडेरी, उच्च गर्मी र एल निनो मौसमी घटनाका कारण यो बर्ष ३४० भन्दा बढी डढेलोका घटना रेकर्ड गरिएको वातावरणमन्त्री सुसाना मोहम्मदले जानकारी दिए। कोलम्बियाले सोमबारदेखि राजधानी नजिकै धेरै डढेलोको सामना गर्नुपरेको छ।

प्रधानमन्त्री कपमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ। बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिएपछि लुम्बिनी ३२.२ ओभरमा १०६ रन बनाएर अलआउट भएको थियो। उक्त लक्ष्य बागमतीले १७.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो। साथै आजै भएको खेलमा एपिएफ र गण्डकी प्रदेश पनि विजयी भएका छन्।

Logo