ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको ओलीको टिप्पणी, गर्दै नगरेको निर्णयले बालेनलाई तनाव [भिडियाेसहित]

ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको ओलीको टिप्पणी, गर्दै नगरेको निर्णयले बालेनलाई तनाव [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको केपी शर्मा ओलीकाे टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन्। दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए।

शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए। त्यसपछि आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैएमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका हुन्। तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको पनि उनले बताए।

मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई साेध्याे स्पष्टीकरण

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्। कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन्। सँगै बालेनले ७ दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन्।

काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाई नगर शिक्षा समितिको निर्णयको हवाला दिँदै विज्ञान संकाय चलाउन ११ र १२ को अनुमति दिएका थिए। यसअघि विद्यासुन्दर शाक्यको पालामा पनि रत्नराज्यलाई प्लस टुको अनुमति दिने विषय विवादित बनेको थियो।

गृहमन्त्री श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय गरेको छ। बैठकमा सहभागीहरुका अनुसार १७ माघमा प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय समन्वय परिषदको बैठक बसेपछि लामो समयदेखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढ्नेछ। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बमोजिम बनेको समितिको पहिलो बैठक आइतबार गृह मन्त्रालयमा बसेको थियो। बैठकले लामो समयदेखि अवरुद्ध प्रहरी समायोजन शीघ्र अगाडि बढाउने निर्णय गरेको छ।

निर्वाचन आयोग गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्। ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। नेता शेखर कोइरालाले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए। उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए।

गृह मन्त्रालयले पाण्डेलाई ‘क्लिन चीट’ हुने कागजात र विस्तृत विवरण राज्य व्यवस्था समितिलाई पठायाे
संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पदम प्रसाद पाण्डेको नागरिकता विवादमा गृह मन्त्रालयले पाण्डेलाई ‘क्लिन चीट’ हुने कागजात र विस्तृत विवरण राज्य व्यवस्था समितिलाई पठाएको छ। संसद सचिवालयको महासचिवमा सिफारिस भएपछि पाण्डेले उमेर घटाएर नागरिकता बनाएको भन्दै उनको नियुक्ति रोक्न राष्ट्रपतिसमक्ष दबाब परेको थियो। सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले डा.भरत गौतमको राजीनामापछि महासचिव नियुक्तिका लागि पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट निःशुल्क पार्किङ सेवा सुरु

न्युरोडमा सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट निःशुल्क पार्किङ सेवा सुरु गरेको छ। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला गर्ने व्यवस्था मिलाइएको हो । धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौँ टावर) क्षेत्रमा पनि पार्किङको व्यवस्था मिलाइएको छ।

नेप्से परिसूचकमा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार

गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो । आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता शेयर एक लाख सात सय ८२ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० बराबरको कारोबार भएको छ।

अमेरिकाको फ्लोरिडा राज्यको मियामीबाट बीस तलाको यात्रुवाहक पानी जहाजको यात्रा सुरु

अमेरिकाको फ्लोरिडा राज्यको मियामीबाट बीस तलाको यात्रुवाहक पानी जहाजको यात्रा सुरु भएको छ । बीबीसीका अनुसार झण्डै आठ हजार यात्रु अटाउने बीस तलाको पानीजहाजको लम्बाई ३६५ मिटर रहेको छ ।यो विश्वको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाज हो । रोयल क्यारिबियन गु्रपको स्वामित्वमा भएको पानीजहाजको पहिलो यात्रा शनिबार भएको बीबीसीले उल्लेख गरेको छ । यात्रा एक हप्ता चल्ने बताइएको छ । पानीजहाज भित्रै वाटर पार्क, सात स्विमिङ पुलदेखि कयौँ रेष्टुरेन्ट तथा बारहरु भएको बीबीसीले उल्लेख गरेको छ ।

आर्मी क्लबका कप्तान विनोद भण्डारीले आफूले पाएको प्लेयर अफ द म्याच अवार्ड बसिर अहमदलाई दिए

त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध आफूले पाएको प्लेयर अफ द म्याच अवार्ड बसिर अहमदलाई दिएका छन् । कर्णालीलाई १६४ रनले हराउने क्रममा विनोदले शतक पूरा गरेका थिए । बसिर भने २ रनले शतक बनाउनबाट चुकेका थिए ।

एक समय ११०–५ को अवस्थामा पुगेको आर्मीलाई छैटौं विकेटका लागि विनोद र बसिरले १६९ रनको अविजित शतकीय साझेदारी गरेका थिए ।जसमा विनोद भण्डारीले १३२ बलमा ६ चौका र ३ छक्कासहित १ सय रनको अविजित शतकीय इनिङ खेलेका थिए । बसिर अहमदले ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनको अविजित इनिङ खेलेका थिए ।

खेलपछि विनोद प्लेयर अफ द म्याच चुनिए ।तर, उनले प्लेयर अफ द म्याच अवार्ड बसिरलाई दिँदै भने, ‘मेरो शतक भए पनि मलाई उसको इनिङ ठिक लागेको थियो । एकतर्फबाट विकेट गुमेको थियो । उ आएपछि राम्रो पनि भयो । प्लेयर अफ द म्याच हुन म भन्दा पनि उ योग्य थियो भन्ने मलाई लाग्यो ।’

Logo