दरबार हत्याकाण्डको छानविन सरकारले गर्ने, पूर्वराजालाई भेटेर दुर्गा प्रसाईंले गरे यस्तो घोषणा [भिडियाेसहित]

दरबार हत्याकाण्डको छानविन सरकारले गर्ने, पूर्वराजालाई भेटेर दुर्गा प्रसाईंले गरे यस्तो घोषणा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीले दरबार हत्याकाण्डको छानविन गराउने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका हुन् । शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले राजपरिवारको हत्या काण्डसँग आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा गुनासो गरेपछि यो विषय हाल चर्चामा छ ।

पार्टी अध्यक्षबाटै प्रतिनिधि चुनिनेछः एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि बन्न पार्टी अध्यक्षदेखि नै चुनिएर आउनुपर्ने निर्णय गरेको छ । सोमबार सकिएको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्यहरू पनि चुनिएर आउनुपर्ने निर्णय गरेको हो । साथै केन्द्रीय कमिटीमा ४० वर्षमुनिका २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

प्रहरी र अध्यागमन कर्मचारीबीच भएको हातपात घटनाको छानबिन गर्न एक दिन म्याद थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपातको घटनाको छानबिन गर्न थप एक दिन म्याद दिइएको छ। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिका लागि थप एक दिन समय दिइएको हो । शनिबारदेखि काम थालेको समितिको म्याद आज सकिएको हो। तर प्रतिवेदन बुझाउन समय अभाव भएपछि मंगलबार बुझाउने गरी समय थप भएको हो। गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबीच हातपात भएको थियो।

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ स्वीकृत
सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यर्मीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने कार्यलाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उक्त कार्यविधि ल्याएको हो । राष्ट्रिय वाणिज्य बैङ्कमार्फत प्रवाह प्रदान गरिने यस्तो कर्जामा वार्षिक तीन प्रतिशत मात्र ब्याज लाग्नेछ । चालु आर्थिक वर्ष २०८०र८१ को बजेट मार्फत घोषित स्टार्टअप उद्यम तथा कर्जा कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम कर्जा प्रवाह गर्ने बैङ्कलाई उपलब्ध गराइनेछ ।बैंकले कर्जा प्रवाह गर्दा कम्तीमा ५ लाख रुपैयाँसम्मको हकमा एक किस्ता र २५ लाख रुपैयाँसम्मको हकमा तीन किस्तामा प्रवाह गर्नेछ ।

जर्मन नागरिक मृत फेला
ललितपुरको नागबहालस्थित ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा एक जर्मन नागरिक मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अपार्टमेन्टमा जर्मन महिला एडि इल एचइडी मृत फेला परेकी हुन् । उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ। मृतक महिलाको टाउकोमा चोट देखिएपछि ‘शंकास्पद’ मृत्यु भएको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको थियो तर कुकुरले कुनै संकेत नगरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । हाल उनको शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।

एनआरएनए विवादमा अदालतले दिएन अन्तरिम आदेश
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनका सम्बन्धमा परेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले सोमबार पक्ष र विपक्षमा परेको रिटका सम्बन्धमा छलफल गर्दा परराष्ट्र मन्त्रालयमा विभिन्न उजुरीहरु परेको र विवादमा सम्बन्धमा छानविन समिति समेत बनिसकेकाले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

कोशी प्रदेशमा अध्यादेश फिर्ता लिन एमालेको आग्रह
नेपाली कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले नेताहरूलाई गाडीसहितिका सुविधा थप्ने गरी जारी गरेको अध्यादेश फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । प्रदेशमा एक जना सांसद भएको पार्टीलाई पनि गाडी सुविधा दिनेगरी ऐन संशोधन गर्नु आपत्तिजनक रहेको बताउँदै एमालेले अध्यादेश फिर्ता नलिए संसदबाट फेल गराइदिने चेतावनी दिएको छ । हालै मुख्यमन्त्री केदार कार्कीले सत्तापक्षीय दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेशमार्फत प्रदेशसभाका पदाधिकारीको संख्या थपेका थिए। थप भएका पदाधिकारीलाई प्रदेश सरकारले सवारीसहित र अन्य सुविधा उपलब्ध गराउने बाटो अध्यादेशबाट खुलेको छ।

त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि अनलाइन प्रणाली सुरु गर्यो
त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता
व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले आज बिहान पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि देशले छिट्टै निकास पाउने बताएका हुन् । उनले सामाजिक फेशुबकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’

प्रधानमन्त्रीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादन गर्न निर्देशन दिए
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन् । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण रहेको बताए ।

नेप्से कारोबार सुरुवाती दुई दिन लगातार बढ्यो
गत साता निरन्तर ओरालो देखिएको नेप्से परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि १० दशमलव २६ अङ्कले उकालो लागेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो । तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता शेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति
नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति पाएकी छिन् । अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराएको हो । ‘पोष्ट ट्रमाटिक स्टेस डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रासको विषयमा ठुलो उपलब्धी प्राप्त गरेपछि अमेरिकाले उनलाई उक्त रकम दिएको हो ।

माल्दिभ्सको संसदभित्र हात हालाहाल
माल्दिभ्सको संसदभित्र हात हालाहाल भएको छ । झगडा गरिरहेका सांसदहरु माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी)का सांसद इसा र सत्तारुढ दल पीएनसीका सांसद अब्दुल्लाह शाहिम अब्दुल हाकिम हुन् । राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्लाई आइतबार संसद्ले अनुमोदन गर्नु थियो । विपक्षी सांसदहरू संसदभित्र पस्न थालेपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए । सांसदहरु ह्वारह्वार्ती सांसद भित्र पसे । यसपछि विपक्षी सांसदहरूले सभामुखमाथि पक्षपात गरेको आरोप लगाए र बिगुल कान नजिकै फुक्न थाले । सत्तारुढ दलका सांसदहरुले विरोध जनाए । केही समयपछि विवाद झगडामा परिणत भएको थियो ।

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई
बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको हो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका थिए । नेपालले फेब्रअरि २ मा बङ्गलादेश, फेब्रअरि ४ मा भुटान र फेब्रअरि ६ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । २ फेब्रअरिदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्नेछन् ।

Logo