महेश बस्नेतविरुद्ध पीडित पुगिन् प्रहरीमा, गृहमन्त्री लामिछानेको नजर अब दलहरूको चरित्र सुधारमा[भिडियाेसहित]

महेश बस्नेतविरुद्ध पीडित पुगिन् प्रहरीमा, गृहमन्त्री लामिछानेको नजर अब दलहरूको चरित्र सुधारमा[भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता
नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । एमालेमा सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीको आरोप छ । बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप पनि लगाएकी छन् ।

आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिनेः गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । आइतबार उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानूनबारे निर्वाचन आयोगसँगको छलफपछि उनले उपनिर्वाचन मंसिरअघि नै गर्न सकिने पनि बताएका हुन्। विभिन्न कारणवश स्थानीय तहका विभिन्न पद रिक्त छन् । साथै उनले निर्वाचन र राजनीतिक दलहरुसम्बन्धी कानूनहरू ऐनमा समावेश गर्न सकिए दलहरूको चरित्र र सरकारको काम कारबाहीका विषयमा कोसेढुंगा सावित हुने पनि बताएका छन् ।

जुम्ली जनता राजतन्त्रको पक्षमा जागेः ज्ञानेन्द्र शाही
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अब जुम्ली जनता राजतन्त्रको पक्षमा जागेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार जुम्लामा नागरिक अभिनन्दनका लागि खलंगामा उत्रिदा नसोचेको भिड जम्मा भएको थियो । जसको प्रशंसा कमाइरहेका ज्ञानेन्द्र शाहीले यति संख्यामा मान्छेहरू अहिलेसम्म जुम्लामा कुनै पनि राजनीतिक दलले जुटाउन नसकेको र यो पहिलोपटक भएको बताएका हुन् । जुम्लाको प्रदर्शनले देशभरमा ठूलो सन्देश गएको उनको भनाइ छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिए पद तथा गोपनियताको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई शपथ ग्रहण गराएका हुन् । सो क्रममा मुख्यमन्त्री अधिकारीले २ सदस्यीय सानो मन्त्रीमण्डल पनि बनाएका छन् । माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका हुन् । यता मनाङेलाई यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । योसँगै मनाङे गण्डकीमा पाँचौं पटक मन्त्री बनेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले लिए पद तथा गोपनियताको शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । सत्ता साझेदार दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । साथै नयाँ मन्त्रीपरिषद्मा नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन जनामन्त्री बनेका छन् । तर, उनीहरु विनाविभागीय हुन् ।

अब एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिनेः डोलप्रसाद अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अब एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता गरेको एक घण्टाभित्र आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताएका हुन् । श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएकोसमेत उनले घोषणा गरे ।

२०८१–८२ को बजेटमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइनेः वर्षमान पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् । एक कार्यक्रममा उनले विगतका वर्षमा बजेट वक्तव्यमार्फत करको दररेट बढाउँदा वा घटाउँदा विवादास्पद विषय बनेको भन्दै आगामी आवमा करको घटबढ हुनुको कारणसहित स्पष्टिकरण समेट्ने बताएका हुन् । तर, कुनै व्यक्ति वा उद्योग विशेषलाई फाइदा पुग्ने गरी राजस्व वा करको दररेट परिवर्तन नगर्ने उनको प्रतिबद्धता छ ।

चैत २८ भित्रै सबै जिल्लामा किताब पुग्छः जनक शिक्षा सामग्री केन्द्र
नयाँ शैक्षिक सत्रको लागि यही २८ चैतभित्रै सबै जिल्लामा किताब पुग्ने जनक शिक्षा सामग्री केन्द्रले दाबी गरेको छ । हालसम्म ७१ जिल्लाका वितरण केन्द्रमा किताब पुगिसकेको र २ वटा जिल्लाका लागि आज वितरण भइरहेको र बाँकी जिल्लाहरूमा सोमबारदेखि वितरण सुरू हुने केन्द्रले जनाएको छ । केन्द्रले कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक १ करोड ४७ लाख सेट पुस्तक प्रकाशन गरी वितरण गरिरहेको छ ।

प्रोप्राइटरसँग ८० लाख घुस लिएका भट्टराईविरूद्ध अख्तियारले मुद्दा दायर गर्यो
आइतबार लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग ८० लाख रूपैयाँ घुस लिएको भन्दै विकास कोषका तत्कालीन योजना प्रमुख रहेका इन्जिनियर सरोज भट्टराईविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै अख्तियारले जनकनन्दनीलाई छोराको कसुरमा मतियार बनेको कारण उनीविरूद्ध पनि मुद्दा दायर गरेको छ । दुवैजना विरूद्ध ८० लाख रूपैयाँ बिगो र कसुरअनुसारको जेल सजाय मागदाबी गरिएको छ ।

जिल्ला न्यायाधीशका लागि ४० प्रतिशत ल्याए पुग्ने
अब जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत ल्याए पुग्ने भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको हो । यसअघि जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान थियो । जसमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

प्राधिकरण देशभित्रकै माग धान्न नसकेर औद्योगिक क्षेत्रमा लोडशेडिङ गराईरहेको छ
गएको जेठदेखि कात्तिकसम्म झन्डै १४ अर्ब रुपैयाँको बिजुली भारतलाई बेचेको विद्युत् प्राधिकरण अहिले देशभित्रकै माग धान्न नसकेर हैरान भएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म सम्पन्न भएका आयोजनाबाट बर्खायाममा ३२ सय मेगावाटसम्म बिजुली उत्पादन हुन्छ तर सुक्खा समयमा भने उत्पादन घटेर १३ सय मेगावाट हाराहारीमा झरेको छ । तर माग भने १९ सय मेगावाटसम्म पुगेको छ । अहिले प्राधिकरणले भारतबाट दिउँसोको समयमा चार सय मेगावाट बिजुली आयात गरे पनि रातिमा निकै महँगो हुने भएकाले आयात बन्द गरेको छ । त्यही भएर औद्योगिक क्षेत्रमा चर्को लोडशेडिङ भइरहेको छ ।

साताको पहिलो दिन सेयर बजार परिसूचक बढ्यो
साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार पनि बढेको छ । आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आज १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।

इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भए
मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् । यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई विवाद समाधान गर्न संयम देखाउन आग्रह गर्नुभएको छ ।

भारतमा जारी एमएमएस फ्रेन्डसिप कपको उपाधि नेपाललाई
नेपालले भारतमा जारी एमएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले भारतको स्टेट क्लब गुजरात क्रिकेट एसोसियसनलाई १८ रनले हराउँदै उपाधि उचालेको हो । नेपालले जितका लागि दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रन मात्रै जोड्नसक्यो । नेपालका लागि कप्तान रोहितले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ७४ रन जोडे । कमजोर प्रदर्शन गरेको नेपालको लागि यो इनिङ निकै महत्वपूर्ण रह्यो । नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेलेको हो ।

Logo