जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

केन्द्रबिन्दु
0
Shares

जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । 

नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानी स्वरुप तीव्र गतिका रेल र सयौँ उडानहरू रद्द गरिएका छन् । 

आइतवार बिहान क्युशुको दक्षिणी शीर कागोशिमा सहर नजिकै अवतरण भएको आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युशुमा सामान्य जनजीवन प्रभावित बनेको हो । 

अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन् । ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।  जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने र वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जनाएको छ ।  

उक्त आँधी अहिले क्युशुमा उत्तरतर्फ बढिरहेको छ र त्यसले टापुको मध्यभागमा अवस्थित पर्वतीय क्षेत्रमा ठूलो वर्षा गराइरहेको छ ।  

Logo