नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करणका लागि आवेदन खुल्ला

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करणका लागि आवेदन खुल्ला

केन्द्रबिन्दु
0
Shares

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सातौं संस्करण असार ५ देखि ८ गते (जुन २० देखि २३)सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सवमा कथानक, वृत्तचित्र, छोटा फिल्म, एनिमेसन लगायतका विधाका फिल्म स्क्रिनिङ गरिनेछन् । नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्मलाई प्रदर्शनको उच्च प्राथमिकतामा राखिने आयोजकले जनाएको छ ।

वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्ममेकरलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि फिल्म प्रदर्शन हुने जनाइएको छ । स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्मलाई पनि यस वर्ष प्रदर्शन गरिने भएको छ ।

‘सन् २०२३ मा भौतिक रुपमा आयोजित फेस्टिभलको भव्यताले आयोजनाका लागि थप उत्साह मिलेको छ । यसले सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौं,’ महोत्सव निर्देशक युवाकर राजकर्णिकारले भने ।

कोरोना महामारीका कारण अघिल्ला दुई महोत्सव भने अनलाइनमार्फत गरिएका थिए । अन्तर्राष्ट्रिय फिल्मकर्मी संलग्न समितिले आवेदन परेकामध्येबाट फिल्म प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सव अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन् । फिल्म प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ ।

Logo