बग्दादमा अमेरिकी ड्रोन आक्रमण

बग्दादमा अमेरिकी ड्रोन आक्रमण

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। इराकको राजधानी बग्दादमा बुधबार अमेरिकी ड्रोनले कारमाथि आक्रमण गरेको छ। मिडिया रिपोर्टका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डर सहित इरान समर्थित मिलिशिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ।

पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा शक्तिशाली कताइब हिजबुल्लाहका कमाण्डर र उनका दुई सहयोगी सवार थिए। आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर खरानी भएको थियो। यसै क्रममा घटनास्थलमा भीड जम्मा भएको थियो।

एक अमेरिकी अधिकारीले कताइब हिजबुल्लाहका एक शीर्ष कमाण्डरलाई ड्रोन आक्रमणमा निशाना बनाएको बताए। इराकी अधिकारीहरूका अनुसार मारिएका मध्ये एक जना विसाम मोहम्मद अबु बकर अल-सादी सिरियामा कटाइब हिजबुल्लाहको कारबाहीका कमाण्डर थिए।

जोर्डनको सैन्य आधारमा भएको हमलापछि अमेरिकाले गत हप्ता इराक र सिरियामा इरान समर्थित आतङ्कवादी समूहका दर्जनौँ स्थानमा बमबारी गरेको थियो जसमा धेरै मिलिशिया सदस्य मारिएका थिए।

क्षेत्रीय तनावका बीच अमेरिकाले फेरि एक पटक ड्रोन आक्रमण गरेको छ। अमेरिकाले जोर्डनमा रहेको सैन्य शिविरमा भएको आक्रमणको लागि इराकको इस्लामिक रेजिस्टेन्सलाई दोष दिएको छ। मारिएका मिलिशिया कमाण्डर इस्लामिक प्रतिरोध संगठनका नेता रहेको अधिकारीहरूले बताएका छन्।

Logo