पाकिस्तानको राष्ट्रपतिमा जर्दारीको चर्चा

पाकिस्तानको राष्ट्रपतिमा जर्दारीको चर्चा

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। पाकिस्तानमा नयाँ सरकारको चित्र स्पष्ट हुँदै गएको देखिन्छ। जियो न्युज लाइभको रिपोर्ट अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाहेक ६ वटाभन्दा बढी दलहरू मिलेर सरकार बनाउन सक्छन्।

सरकारलाई बाह्य सहयोगको घोषणा गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) सरकारमा सामेल नभए पनि बार्गेनिङ गरिरहेको छ। बिलावलको यो पार्टी आफ्ना पिता आसिफ अलीलाई राष्ट्रपति बनाउन चाहन्छ। यसबाहेक उनी सिनेटको अध्यक्ष र राष्ट्रिय सभाको सभामुख पदको खोजीमा छन्।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन्। जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो। एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ। त्यहाँ आज फेरि मतदान हुँदैछ। बाँकी ७० सिट आरक्षित छन्।

नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन), आसिफ अली जरदारी र बिलावल भुट्टोको पीपीपी गठबन्धनका मुख्य साझेदार हुनेछन्। यस बाहेक एमक्युएमपी, एमएल–क्यु, आइपीपी र बीएपी जस्ता साना दलहरू गठबन्धनमा सामेल हुने सम्भावना बढेको छ।

यी सबै दल मिलेर फेरि एकपटक पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) बनाउने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। अप्रिल २०२२ मा इमरानको सरकार पतन भएपछि पनि पीडीएम बनेको थियो।

त्यसबेला १३ दलहरू संलग्न थिए र शाहबाज सरिफको नेतृत्वमा त्यो सरकार जम्मा १६ महिना चल्यो। यसपछि राष्ट्रियसभाको कार्यकाल पूरा भई देश सञ्चालनको जिम्मेवारी कार्यवाहक सरकारले लिएको थियो। अनवर उल हक कक्कड प्रधानमन्त्री भए र अहिले पनि छन्।

नयाँ सरकारमा पीएमएल–क्यू प्रमुख चौधरी शुजात हुसैन र आसिफ अली जर्दारीले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। यसबाहेक नवाज शरीफ पनि त्यहाँ हुनेछन्, तर उनले सरकारमा कुनै पद लिने छैनन्।

बिलावल भुट्टोले यसअघि नै प्रधानमन्त्री पदका लागि आफ्नो दाबी फिर्ता लिएको स्पष्ट पारिसकेका छन्। उनका अनुसार निर्वाचनमा हाम्रो पार्टीले यो पदमा दाबी गर्न पर्याप्त सिट पाएको छैन। त्यसैले अर्को पार्टीले मौका पाउनुपर्छ र यो पार्टी नवाजको पीएमएल–एन हो।

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए। अब उनको पार्टी पीपीपी जरदारीलाई दोस्रो पटक राष्ट्रपति बनाउन चाहन्छ। वास्तवमा पीपीपी सरकारमा नभए पनि सरकार र संसद दुवैलाई नियन्त्रण गर्न चाहन्छ।

त्यसैले उनी सिनेटको अध्यक्ष र राष्ट्रिय सभाको सभामुख पदको खोजीमा छन्। पीपीपीले आसिफ अली जरदारीलाई राष्ट्रपति बनाउनु पर्ने बताएको छ। अन्य दलहरू पनि यस विषयमा सजिलै सहमत हुनेछन्। ६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए।

मुलुक अहिले इतिहासकै सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको र यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका निकै महत्वपूर्ण हुने पीपीपीले जनाएको छ। अनुभवी व्यक्तिलाई राष्ट्रपति बनाउन आवश्यक छ र यस सन्दर्भमा जरदारी नै उपयुक्त विकल्प रहेको पाकिस्तानी सञ्चारमाध्यमको पनि दावी छ।

Logo