अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’

अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन्।

उनले मानिसहरूलाई उनीहरूको धर्मको आधारमा प्रतिबन्ध नलगाउने भन्दै संसारको हरेक कुनाका मानिसहरूका लागि अमेरिका सुरक्षित ठाउँ भन्ने विश्वास जगाउनुपर्ने बताएका हुन्।

राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ। यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन् । म पुटिनलाई भन्न चाहन्छु ‘हामी युक्रेनलाई कहिल्यै त्याग्ने छैनौं र हामी रूससँग कहिल्यै झुक्ने छैनौं।’ बाइडेनले युक्रेनका लागि सहयोग जारी राख्न संसदलाई अपील पनि गरे।

आप्रवासीको बारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘म आप्रवासीहरूलाई ट्रम्पजस्तो राक्षस ठान्दिनँ। उहाँजस्तै, म आप्रवासीहरूले अमेरिकाको रगतमा विष हाल्दैछन् पनि भनीहाल्दिन।’

यसैगरी, युक्रेन युद्धमा अमेरिकी सेना नजाने पनि प्रष्ट पारेका छन् । युक्रेनले रुससँग प्रतिस्पर्धा गर्नका लागि हामीसँग हतियारको मामिलामा सैन्य सहयोग मागेको छ । ट्रम्पको नाम नलिई बाइडेनले भने,‘पूर्वराष्ट्रपतिले रुसलाई नेटो देशहरू विरुद्ध मनोमानी कारबाही गर्न उक्साएका थिए। उनी पुटिनको अगाडि झुके । यस प्रकारको कथन अत्यन्त खतरनाक छ र स्वीकार गरिने छैन।’

आफू कोरोनाबाट सत्तामा आएको स्मरण गर्दै त्यतिबेला देशको आर्थिक अवस्था नाजुक रहेको र अहिले सरकारले यसलाई फेरि माथि उठाएको दाबी गरे। उनले मानिसहरू अमेरिकाको अर्थतन्त्रप्रति इर्ष्या गर्ने अवस्थामा पुगेको बताउँदै तीन वर्षमा १.५ करोड नयाँ रोजगारीका अवसरहरू सिर्जना गरेको सुनाए।

इजरायल-हमास युद्धबारे बाइडेनले इजरायलको आफ्नै सुरक्षाको अधिकार रहेको बताउँदै हमास युद्ध अन्त्य गर्न चाहन्छ भने उसले आफ्ना हतियार त्याग्न र कैदीहरूलाई रिहा गर्नुपर्ने कुरामा जोड दिए।

युद्धमा ३० हजार प्यालेस्टाइनी मारिएका छन्। यीमध्ये अधिकांश हमासका लडाकु होइनन्। यसैगरी इजरायलले मानवीय सहायतालाई गाजा पुग्न अनुमति दिनुपर्ने कुरामा पनि राष्ट्रपति बाइडेनले जोड दिए।

चुनावी वर्ष भएकाले बाइडेनले आगामी वर्षका लागि सरकारको एजेण्डालाई पनि सार्वजनिक गरेका छन्। अमेरिकी पत्रिका ‘द हिल’का अनुसार आम जनताका लागि नयाँ योजना र विदेश नीतिका विषयमा बढी ध्यान केन्द्रित गरिएको छ। यसका साथै राष्ट्रपतिले भविष्यका चुनौतिहरुको पनि वणर्न गरेका छन्।

Logo