पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा

पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा

केन्द्रबिन्दु
14
Shares

काठमाडौं। आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन्। आइतबार पद तथा गोपनियताको सपथ लिएका राष्ट्रपति जरदारीले मंगलबार यस्तो घोषणा गरेका हुन्।

जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत यस्तो जानकारी दिएको छ। राष्ट्रिय कोषमा भार नपार्ने उद्देश्यले राष्ट्रपतिले आफ्नो पारिश्रमिक त्यागेको बताइएको छ।

यो उल्लेखनीय छ कि पूर्वराष्ट्रपति आरिफ अल्वीले प्रति महिना ८ लाख ४६ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका थिए। राष्ट्रपतिको तलब सुविधा संसदले पारित गर्ने प्रचलन छ। पाकिस्तानमा सन् २०१८ देखि उक्त सुविधा राष्ट्रपतिले पाउँदै आएका थिए।

जरदारी पाकिस्तानका सबैभन्दा धनी राजनीतिज्ञ मध्ये एक हुन्। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह-अध्यक्ष आसिफ अली जर्दारीले आइतबार पाकिस्तानको १४औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका थिए। इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले जरदारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

सैन्य शासकहरूलाई छोडेर, जरदारी दोस्रो पटक राष्ट्र प्रमुखको पद ग्रहण गर्ने पाकिस्तानको पहिलो नेता बनेका छन्। यसअघि उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पद सम्हालेका थिए।

यस्तै, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि आफ्नो तलब छोड्ने निणर्य गरेका छन्। नक्वीले देशले सामना गरिरहेको आर्थिक चुनौतीलाई पनि यसको कारण बताए।

Logo